काठमाडौं । सन् २०२५ को मार्च कार लन्चिङको हिसाबले ऐतिहासिक महिना बन्न पुग्यो । कुनै विशेष समय बिना नै मार्चमा झण्डै आधा दर्जन कार मोडल बिक्री सुरू हुने भएका हुन् ।
अटो शो वा कुनै चाडपर्व बिना एकै महिना यति धेरै कार मोडल बिक्री सुरू भएको नेपालमै पहिलो पटक हो । मार्च लागेसँगै एलईभी-०१, लीपमोटर टी-०३ र एमजी एस-५ को बिक्री सुरू भइसकेको छ । चाँडै प्रोटोन इमास-७ र हुन्डाई क्रेटा ईभी बिक्री सुरू हुनेछ ।
प्रोटोनले आगामी शुक्रबारबाट इमास-७ बिक्री सुरू गर्ने भएको छ । मार्च २१ तारिकमा राजधानीमा एक कार्यक्रम आयोजना गर्दै इमास-७ को बिक्री सुरू गर्न लागेको हो ।
हुन्डाईको निकै सफल मोडल क्रेटाको इलेक्ट्रीक मोडल पनि मार्च २४ तारिकमा लन्च हुने भएको छ । आजको ठ्याक्कै ६ दिनपछि बजारमा आउने क्रेटा ईभी धेरैले प्रतिक्षा गरेको मोडल हो ।
चीनमा निकै सफल जिलीको ग्यालेक्सी-५ लाई रिनेम गरेर ल्याइएको इमास-७ र हुन्डाई क्रेटा ईभीमा कति फरक छन् ? भन्ने कुरा हामीले यहाँ चर्चा गर्न लागेका हौं । यदि तपाईँ यी दुई मध्ये कुनै एउटा मोडल खरिद गर्ने योजनामा हुनुहुन्छ भने छनोटको लागि यो रिपोर्ट सहयोगी बन्न सक्छ ।
दुई फरक ब्याट्री साइज
हुन्डाई क्रेटा र प्रोटोन इमास-७ दुवै मोडललाई कम्पनीहरूले दुई ब्याट्री अप्सनमा ल्याउन लागेको छ । हुन्डाई क्रेटामा ४२ र ५१.४ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री प्रयोग भएको छ । हाइ पर्फमेन्स गाडीमा प्रयोग हुने एनसीएम ब्याट्री हाइ डेनसिटी क्षमताको हुन्छ ।
प्रोटोन इमास-७ मा ४९ र ६० किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । जिली ग्रुपले बनाएको एजीज सर्ट ब्लेड ब्याट्री यसमा प्रयोग भएको छ । जिलीका अनुसार यसमा प्रयोग भएको ब्याट्री सुरक्षाको मामलामा निकै अगाडि छ ।
रेन्ज
ठूलो ब्याट्री भएको कारण इमास-७को रेन्ज धेरै हुने अनुमान गर्न सकिन्छ । तर, रियल वर्ल्डमा दुवै गाडीको रेन्ज लगभग समान आउने सडक परीक्षणहरूले देखाएको छ ।
इमासको ठूलो ब्याट्रीले ४१० र सानो ब्याट्रीले ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले देखाएको छ । क्रेटामा रहेको ठूलो ब्याट्रीले ४२६ किलोमिटर र सानो ब्याट्रीले ३२० किलोमिटर रेन्ज दिने अटोकारको सडक परीक्षणमा देखिएको छ ।
नेपाली सडकमा यी दुई मोडलको रेन्ज कस्तो रहन्छ, अहिल्यै भन्न हतार हुन्छ ।
मोटर पावर र टर्क
मोटर पावरको मामलामा प्रोटोन इमास-७ निकै पावरफुल छ । यसको दुवै भेरियन्टमा समान १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसको पीकटर्क ३२० न्युटन मिटर रहेको छ ।
हुन्डाईले क्रेटा ईभीलाई दुई मोटर अप्सनमा ल्याउने छ । सानो ४२ किलोवाट आवरको ब्याट्रीसँग ९९ किलोवाटको मोटर छ भने ठूलो ब्याट्रीसँग १२६ किलोवाटको मोटर दिइएको छ । दुवै मोटरको पीकटर्क भने २५५ न्युटन मिटर छ ।
मूल्य
यी दुई एसयूभीको मूल्य पनि गलभग उस्तै रहने छ । क्रेटाको मूल्य ५२ लाखदेखि ६५ लाख रुपैयाँ भित्र रहने अनुमान गरिएको छ । जबकि प्रोटोन इमासको मूल्य ५७ लाखदेखि ६८ लाख रुपैयाँसम्म हुने कम्पनी स्रोतको भनाइ छ ।
ह्वील साइज
हुन्डाईले क्रेटा ईभीमा १७ इन्चको अलोय ह्वील दिएको छ । प्रोटोनले इमास-७ मा १८ र १९ इन्चको ह्वील भेरियन्ट अनुसार दिएको छ ।
ग्राउण्ड क्लियरेन्स
प्रोटोन इमास-७ मा १७५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । हुन्डाईले क्रेटा ईभीमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ ।
साइज
प्रोटोन क्रसओभर डिजाइनमा उपलब्ध मोडल हो । यसको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । यसको ह्वीलबेस २७५० एमएम लामो छ ।
पर्पर एसयूभी डिजाइनमा उपलब्ध क्रेटाको लम्बाइ ४३४० एमएम, चौडाइ १७९० एमएम र उचाइ १६५५ एमएम छ । तथ्यांकमा हेर्दा क्रेटा सानो लाग्छ । तर, डिजाइन अनुसार बल्की देखिन्छ ।
स्पेयर टायर
हुन्डाईले क्रेटा ईभीमा फुल साइज स्पेयर टायर दिएको छ । जबकि प्रोटोन इमास-७ मा तपाईँले पन्चर किट मात्रै पाउनु हुन्छ ।

