एक महिना भित्रै ५०० अल्ट्रा फास्ट चार्जर जडान गर्दै बीवाइडी

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले आगामी महिना भित्रै १ हजार किलोवाट क्षमताको अल्ट्रा फास्ट चार्जर जडान सुरू गर्ने भएको छ ।

कम्पनीले गत साता सार्वजनिक गरेको १ हजार किलोवाट क्षमताको अल्ट्रा फस्ट चार्जर अप्रिलभित्रै चीनका विभिन्न सहरमा जडान सुरू गर्ने भएको हो ।

कम्पनीले चीनभर ४ हजार अल्ट्रा फास्ट चार्जर जडान गर्ने योजना बनाएको छ । सोमध्ये पहिलो चरणमा अप्रिलमा चीनका सहरहरुमा ५०० वटा अल्ट्रा फास्ट चार्जर स्थापना गर्ने भएको हो ।

कम्पनीले गत मार्च १७ मा विश्वको सबैभन्दा ठूलो १ मेगावाट चार्जिङ क्षमता भएको अल्ट्रा फास्ट चार्जर अनभिल गरेको थियो । यसअघि टेस्लाले जडान गरेको सुपर चार्जरभन्दा यसको क्षमता दुई गुणा धेरै छ ।  कम्पनीले यसको नाम मेगावाट फ्ल्यास चार्जर राखेको छ ।  यो फास्ट चार्जरले जम्मा ५ मिनेटमै ४०० किलोमिटरको रेन्ज वरावरको चार्जिङ क्षमता राख्छ । जसले गर्दा अब पेट्रोल हाल्ने समय र ईभी चार्ज गर्ने समय करिब समान हुनेछ ।

बीवाइडीले यो नयाँ चार्जरको घोषणा गरेपछि पनि धेरैले विश्वास गरेका थिएनन् किनकि बीवाइडीले उक्त समयमा यो चार्जरको टाइमलाइन घोषणा गरेको थिएन । तर कम्पनीले आगामी अप्रिल महिनाको सुरूवातमै ५०० वटा यस्ता चार्जर जडान गरिसक्ने कम्पनीका जनरल मेनेजर ली युनफेईले बताएका छन् ।

१ हजार किलोवाटको चार्जरले काम गर्नको लागि सप्लाई ट्रास्मिसन पनि उही क्षमताको हुनु पर्नेछ । तर साधारणतथा सहरी क्षेत्रमा यो क्षमताको ट्रास्मिसन लाइन हुँदैन । यही समस्या समाधान गर्न कम्पनीले चार्जिङ स्टेशनमा स्टोरेज सिस्टम जडान गर्नेछ । जसमा २४ सै घण्टा इनर्जी स्टोरेज हुनेछ । आवश्यक पर्दा एकैपटक १ मेगावाटको स्पीडमा चार्ज हुनेछ ।

अहिले बीवाइडीलको सुपर ईप्ल्याटफर्ममा बनेका कारले मात्रै १ मेगावाटको अल्ट्रा फास्ट चार्जर सपोर्ट गर्छ । बीवाइडीले सार्वजनिक गरेको १ हजार भोल्ट आर्किटेक्चर सुपर ई प्ल्याटफर्ममा आधारित छ । कम्पनीले सोही प्ल्याटफर्म सपोर्ट गर्ने हान एल र टाङ एल मोडलका दुई सेडान ईभी लन्च समेत गरेको छ ।


Back_to_top