ट्रम्पको नीतिले कच्चा तेलको मूल्यमा उच्च गिरावट, नेपाललाई फाइदा

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबारदेखि विश्वका १८० बढी देशलाई पारस्परिक भन्सार (रेसिप्रोकल ट्याक्स) लगाएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको हो ।

एकैदिनमा कच्चा तेलको मूल्य औसतमा साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । बुधबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ७४.९५ डलर रहेकोमा शुक्रबार (पौने ११ बजेसम्म) ७.३४ प्रतिशतले घटेर ६९.४५ डलरमा झरेको छ ।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआइ) क्रुड पनि ७.६५ प्रतिशतले घटेर ६६.२३ डलरमा झरेको छ । बुधबार डब्ल्यूटीआइ क्रुडको भाउ प्रतिब्यारेल ७१.७१ डलर थियो ।

त्यस्तै, मुर्बान क्रुडको भाउ ६.६२ प्रतिशतले घटेर ७६.८३ डलरबाट ७१.७५ डलरमा झरेको छ । त्यस्तै, अन्य क्रुड आयलहरूको मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

ट्रम्पको नयाँ कर नीतिले विश्वव्यापी ट्रेड वार चर्काउने र त्यसले आर्थिक वृद्धिलाई संकुचित बनाउने प्रक्षेपण भएको छ । यस्तोमा विश्व बजारमा इन्धनको माग घटाउने देखिएकाले तेलको मूल्यमा उच्च गिरावट आएको हो ।

ट्रम्पको कर नीतिले विश्व अर्थतन्त्रलाई नै खतरा पर्ने विश्लेषण भइरहँदा अधिकांश क्रुड बेन्चमार्कहरूमा बिहीबार भारी गिरावट आएको अन्तर्राष्ट्रिय संचारमाध्यम रोयटर्सले उल्लेख गरेको छ ।

ट्रम्पको योजना अनुसार सबै देशलाई १० प्रतिशत न्यूनतम कर लगाइएको छ । कतिपय देशहरूमा उच्च दरको कर लगाइएको छ ।

सन् २०२२ फेब्रअरी रुस युक्रेन युद्ध सुरु भएसँग कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो । त्यसको केही महिनापछिदेखि घट्न थालेको कच्चा तेलको मूल्य लगातार ओरालो यात्रामा छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाललाई भने फाइदा हुने भएको छ । नेपालले हाल भारतबाट पेट्रोलियम पद्धार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको मूल्य घट्दा भारतमा पनि सस्तिने र त्यसको प्रभाव नेपालमा पनि पर्ने गर्छ ।


Back_to_top