काठमाडौं । नेपाली व्यावसायिक घराना जगदम्बा ग्रुपले चारपाङ्ग्रे सवारीसाधनको बिक्री–वितरण सुरु गर्ने भएको छ । मलेसियन मोटर कम्पनी प्रोटोनका उत्पादन नेपाली बजारमा जगदम्बा माटर्सले बिक्री वितरण सुरु गर्ने सम्झौंता गरेको हो ।
सन् १९७९ मा मलेसियाली प्रधानमन्त्री महाथिर महमोदको परिकल्पनाअनुसार सन् १९८३ स्थापना भएको प्रोटोन मोटर्स तत्कालीन समयमा मलेसियाको सरकारको लगानीमा स्थापना भएको कम्पनी हो ।
सो समयमा यो कम्पनीको प्रमुखका रुपमा महाथिर महोमद नै रहेका थिए । सन् १९८४ मा जापानको मित्सुबिसी मोटर्ससँग कोल्याबरेसन गरेको कम्पनीले मित्सुबिसी मोटर्सको टेक्नीकल सपोर्टमा गाडीहरू उत्पादन हुनथालेका थिए ।
सन् २०१६ मा प्रोटोनको ४९.९ प्रतिशत स्टेक खरिद गरि चाइनाको जिजियाङ्ग गिली अटोमोविल होल्डिङ्ग प्रोटोनमा प्रबेश गरेको हो । गिलीको आगमनसँगै प्रोटोनको लोगो पनि परिवर्तन भएको हो ।
नेपाली बजारमा प्रोटोनका कारहरू केही समय अगाडिसम्म कन्ट्यान्ट बिजनेस ग्रुपले बिक्री–वितरण गरिरहेको थियो । नेपाली सडकमा प्रोटोनका वाजा, विरा तथा पर्सोना मोडलका कारहरू अहिले पनि गुडिरहेका छन् ।
जगदम्बा मोटर्सले कुन कुन मोडलका कारहरु नेपाली बजारमा ल्याउने छ भन्ने विषय कम्पनीले केही जानकारी दिएको छैन । तर, सम्भवत एसयूभी एक्स–७० समेत नेपाली बजारमा ल्याउने छ ।

