हिमपातका कारण बन्द रसुवागढी नाका खुल्ला

रसुवा । केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । 

केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट आजदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिए । 

बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू-भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँँ भू-भागबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

यही माघ ८ गतेदेखि शुरु भएको हिमपातका कारण रसुवागढीदेखि केरुङसम्म चिनियाँँ भू-भागतर्फको राजमार्गमा भारी हिमपात भएकाले सामान आयातका लागि केरुङतर्फ गएको ३०० भन्दाबढी ट्रक कन्टेनर केरुङमा नै रोकिएका छन् । 

चिनियाँ पक्षले जम्मा भएका हिउँ सडकबाट पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको हो । आज दिनभरमा २०० को हाराहारीमा मालवाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गर्ने अनुमान गरिएको गुल्मपती केसीले जानकारी दिए । 


Back_to_top