आधुनिक कारमा हुने यी ७ सुरक्षा फिचर, अब ट्याक्सीमा पनि हुनैपर्ने

काठमाडौं । अब ट्याक्सीको रूपमा प्रयोग हुने सार्वजनिक सवारी साधनमा पनि सुरक्षा फिचर अनिवार्य गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख ४ गतेदेखि ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१’ लागू गर्दै सुरक्षा फिचर अनिवार्य गरेको हो ।

हाल गुडिरहेका अधिकांश ट्याक्सी (विद्युतीय बाहेक)मा सुरक्षा फिचर छैन । यात्रुको सुरक्षालाई मध्ये नजर गर्दै मन्त्रालयले अब दर्ता हुने नयाँ ट्याक्सीमा भने आधादर्जन बढी सुरक्षा फिचर अनिवार्य गरेको हो ।

नयाँ मापदण्ड अनुसार अब ट्याक्सीमा एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) विथ इल्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्युसन (ईबीडी), कम्तीमा २ वटा एयर ब्याग (चालक र सहचालकको सिटमा), हाइ स्पीड आर्लम सिस्टम, अगाडी पछाडि सबै सिटमा सिट बेल्ट, चालक र सँगैको सिटमा सिटबेल्ट रिमाइन्डर, पार्किङ सेन्सर वा रियर भ्यू क्यामेरा हुनुपर्नेछ । साथै, ट्याक्सी भित्र सीसीटीभी क्यामेरा अनिवार्य हुनुपर्नेछ ।

यी सुरक्षा फिचरले यात्रुलाई सुरक्षित बनाउनुको साथै चालकलाई गाडी चलाउन पनि सहज बनाउँछ ।

ट्याक्सीमा हुनैपर्ने फिचर्स र तिनले गर्ने काम यस्तो छ

१. एबीएस : एन्टिलक ब्रेकिङ सिस्टमले आकष्मिक ब्रेक लगाउनु परेको अवस्थामा पनि सवारीसाधनलाई सन्तुलित ढंगले रोक्न सहयोग गर्न । एबीएस सवारी गुडिरहेको बेला ब्रेक लगाउँदा चिप्लने अवस्थाबाट रोक्न सहज होस् भनेर विकास गरिएको प्रणाली हो । एबीएसमा ह्वील स्पीड सेन्सर हुन्छ । जसले सवारी गुडिरहेका बेला ब्रेक लगाउँदा एकभन्दा बढी ह्वील लक हुन दिँदैन । जब ह्वील लक हुन खोज्छ, त्यतिबेला हाइड्रोलिक भल्भ सिरिजले ब्रेकिङलाई नियन्त्रण गर्ने र सवारीलाई चिप्लनबाट रोक्ने काम गर्छ ।

२. एयर ब्याग : एयर ब्याग एक आधुनिक सुरक्षा फिचर हो । एयरब्यागले गाडी दुर्घटना हुदाँ अगाडी ठूलो हावाको थैली निस्कन्छ । जसको कारण अगाडी बस्ने चालक र प्यासेन्जर गाडीको ड्यासबोड् र स्टेरिङमा ठोकिनबाट बचाउँछ ।

३. हाइ स्पीड अलर्ट सिस्टम : हाइस्पीड अलर्ट सिस्टममले गाडीको निश्चित गतिभन्दा धेरै स्पीड भएमा चालक र प्यासेन्जरलाई अलर्ट गर्छ । सामान्यतया कारको गति ८० किलोमिटरभन्दा बढी भएमा यस्तो अलर्ट बज्छ ।

४. सिट बेल्ट : सिटबेल्टले यात्रुलाई सिटबाट उछिटिनबाट जोगाउँछ । सिटबेल्ट कारको चालक र प्यासेन्जरको सुरक्षामा खोज भएको पहिलो सुरक्षा फिचर हो । स्वीडिस अटोमोबाइल कम्पनी भोल्भोले पहिलो पटक प्याटेन्ट दर्ता गरेको सिटबेल्ट सिस्टम समग्र कार यात्रुको लागि तुरुन्तै सार्वजनिक गरेको थियो । अहिले प्रयोग भइरहेका थ्री पोइन्ट सिटबेल्टले दुर्घटनामा लाखौं व्यक्तिको ज्यान बचाएको छ ।

५. सिटबेल्ट रिमाइन्डर : धेरै चालक र प्यासेन्जरले सिटबेल्ट भए पनि नलगाएको पाइन्छ । गाडीमा हुने सिटबेल्ट रिमाइण्डरले गाडीमा बस्ने चालक वा यात्रुले सिटबेल्ट नलगाएमा बिप, बिप आवाज निकाल्छ । गाडीको सिटमा बस्दा त्यसमा रहेको सेन्सरले तौल डिटेक्ट गरी आवाज निकाल्छ ।

६. पार्किङ सेन्सर वा रियर भ्यू क्यामेरा : पार्किङ सेन्सर र रियरभ्यू क्यामरा गाडी रिभर्स गर्दा वा पार्किङ गर्दा प्रयोगमा आउँछ । गाडीको रियर लोअर बम्परमा सेन्सरहरू रहेको हुन्छ । यो सेन्सरले गाडी व्याक गर्दा बम्पर नजिकै केही वस्तु भएमा अगाडि चालकलाई अलर्ट गराउँछ । त्यस्तै रियर भ्यू क्यामेराले गाडी रिभर्स गर्दा पछाडिको भ्यू अगाडी स्क्रीनमा देखाएर मद्दत गर्छ ।

७. सीसीटीभी क्यामेरा : अब दर्ता हुने ट्याक्सीमा सीसीटीभी क्यामेरा अनिवार्य राख्नु पर्नेछ । यसले ट्याक्सी चढ्ने यात्रु र चालकको गतिविधि निगरानी गर्न सहज बनाउँछ । ट्याक्सी चालक र यात्रु बीच झगडा, वादविवाद भएमा सीसीटीभी हेरेर कारण थाहा पाउन सकिन्छ । साथै, यात्रुले अस्वभाविक गतिविधि गरेमा, यात्रुको सामान हराए/चोरी भएको समेत थाहा पाउन सकिन्छ ।


Back_to_top