काठमाडौं । रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलको परीक्षण सुरू गरेको छ ।
कम्पनीले पहिलो पटक इक्मा अटो शो २०२४ मा प्रदर्शन गरेको फ्लाइङ फ्लेया सी ६ मोटरसाइकलको भारतीय सडकमा परीक्षण सुरू गरेको हो ।
क्लासिक मोटरसाइकल निर्माण गर्ने रोयल इनफिल्डले इलेक्ट्रीक मोटरसाइकल समेत क्लासिक स्टाइलमा नै तयार पारेको छ ।
फ्लाइङ फ्लेया रेन्जको लागि कम्पनीले नयाँ लोगो तयार पारेको छ । योसँगै फ्लाइङ फ्लेया सी ६ ग्रडर फर्क भएको पहिलो मोटरसाइकल भएको छ । ग्रडर फर्क ४० को दशकमा धेरै प्रयोग हुने गरेको थियो ।
कम्पनीले फ्लाइङ फ्लेया सी ६ दोस्रो विश्व युद्धमा प्रयोग गरेको मोटरसाइकलको नामबाट लिएको हो । त्यस समयमा फ्लाइङ फ्लेया सिम्पल डिजाइन, उच्च प्रदर्शन र सजिलो ह्याण्डलिङको लागि प्रख्यात मोटरसाइकल थियो ।

रोयल इनफिल्डले फ्लाइङ फ्लेया सी ६ लाई पनि सिम्पल डिजाइनमा तयार पारेको छ । यसमा रेट्रो फिल दिने राउन्ड हेडल्याम्प, राउन्ड सेप रियर भ्यू मिरर, गोलाकार डिजिटल टचस्क्रीन इन्स्ट्रुमेन्ट क्लस्टर र कनेक्टिभिटी दिइएको छ ।
त्यसैगरी, पूरा एलईडी लाइट, ट्रयाक्सन कन्ट्रोल, डबल डिस्क ब्रेक, कर्नरिङ एबीएस, अलोय ह्वील, लिन एंगल सेन्सर, किलेस इग्निशन, स्प्लीट सिट जस्ता फिचरहरू यस मोटरसाइकलमा हुने छन् ।
कम्पनीले फ्लाइङ फ्लेया सी ६ इलेक्ट्रीक मोटरसाइकलको बारेमा धेरै जानकारी बाहिर ल्याएको छैन् । केही दिनमा यसको डिटेल्स बाहिर आउने अनुमान गरिएको छ । मोटरसाइकलको प्रोडक्सन भने २०२६ बाट सुरू हुने कम्पनीले जनाएको छ ।

