विश्वकै अग्लो मानव बस्ती भएको छार्काभोटमा पुग्यो बोलेरो

काठमाडौं । विश्वकै अग्लो ठाउँको बस्ती दाबी गरिएको उपल्लो डोल्पाको छार्काभोटमा पहिलोपटक गाडी पुगेको छ ।

कालीगण्डकी कोरिडोर हुँदै मुस्ताङबाट डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र छार्काभोटमा सोमबार पहिलो पटक दुईवटा बोलेरो जिप पुगेका हुन् ।

छार्काभोट समुद्र सतहदेखी ४ हजार ३०० मिटरको उचाइमा छ । डोल्पा र मुस्ताङ जोड्ने पक्की पुल निर्माण भएसँगै बोलेरो जिप छार्काभोट पुगेका हुन् ।

मुस्ताङबाट डोल्पा पुगेका जिपलाई ठाँउठाउँमा डोजरले तानेर लगिएको थियो । गाउँमा पहिलोपटक जीप पुगेपछि उपल्लो डोल्पाबासी खुसी र उत्साहित देखिएका छन् ।

अब ती दुई वटा जिपले छार्काताङसोङ, डोल्पोबुद्व र शे-फोक्सुण्डो गाउँपालिकाभित्र आन्तरिक यातायात सेवा प्रदान गर्नेछन् । यस क्षेत्रका नागरिकले सहजै पोखरा काठमाडौंसम्म यात्रा गर्न सक्नेछन् । यद्यपि, छार्काभोट पुग्ने सडक भने निकै जोखिमपूर्ण छ ।


Back_to_top