सांघाई । विश्वकै ठूलो मध्येको एक मानिने ‘अटो सांघाई ’को २१ औं संस्करण सर्वसाधारणको लागि आजबाट खुला भएको छ । एशिया, युरोप, अमेरिकादेखि नेपालसम्मले चासोका साथ हेरेको अटो शोमा देखाइएका प्रोडक्टहरूले अटोमोबाइल क्षेत्रको भोलिको दिनलाई इंगित गरिरहेको अनुमान गर्न कठिन छैन ।
चीनको व्यस्त सहरमा आयोजना भएको ‘अटो सांघाई’ हेर्न विश्वभरबाट अटोमोबाइल व्यवसायी र पत्रकारहरूको उपस्थितिले ‘विश्व अटोमोबाइलको पावर हाउस’ चाइना भएको संकेत गर्छ । अझ रोचक विषय अटो सांघाई घुमिसकेपछि चिनियाँ उत्पादकहरूको लक्ष्य र गन्तव्य के हो भन्ने छुट्टाउन धेरैलाई हम्मे हम्मे पर्छ ।
विशेषतः ब्राजिल, थाइल्याण्ड, साउदी अरब, इजिप्ट, मेक्सिको, टर्की, रसिया जस्ता ठूला अटोमोबाइल बजारमा चिनियाँ प्रोडक्टको बढ्दो प्रयोगका कारण उनीहरूको बलियो उपस्थिति अटो शोमा देखिन्थ्यो । नेपाल, पाकिस्तान, श्रीलंकादेखि बंगलादेशका व्यवसायीहरू पनि बाक्लै संख्यामा अटो शोमा पुगेका छन् । यसले चिनियाँ उत्पादन, बिक्रेतादेखि एजेन्टसम्मलाई खुसी बनाएकै छ ।
आगामी मे २ तारिखसम्म चल्ने अटो सांघाई २०२५ अवलोकनपछि नेपालका सन्दर्भमा र विश्व अटोमोबाइल बजारको परिदृश्यलाई नियाल्दा देखापर्ने सम्भावित परिणामका बारेमा यहाँ केही कुरा उल्लेख गर्न खोजिएको छ ।
ईभी कि हाइब्रिड ?
अटो सांघाईमा पेट्रोल इन्जिन, हाइब्रिडका विभिन्न प्रकार र प्योर ईभी सबै किसिमका गाडी पाउन सकिन्छ । नयाँ गाडी उत्पादक र स्टार्टअप कम्पनीहरू प्योर ईभी र हाइब्रिडमा केन्द्रीत छन् भने अन्य उत्पादक पेट्रोलसँगै हाइब्रिड र ईभीमा छन् ।

कुनै पनि ब्राण्डले आफ्नो लिगेसीलाई छाडेका छैनन् । जहाँ जीडब्लूएमले भी-८ इन्जिनको जोडतोडले ‘प्रमोट’ गरेको पाइन्छ । फोर्ड र फक्सवागेन जस्ता कम्पनीले पनि आफ्ना पावरफुल इन्जिन भएका मोडललाई देखाउन छाडेका छैनन् ।
अघिल्लो वर्ष भएको बेइजिङ अटो शो २०२४ को तुलनामा नयाँ उत्पादनको संख्या कम रहेको अटो सांघाईमा ठूला र पावरफुल गाडीको बलियो उपस्थिति देखिन्छ । चिनियाँ स्टार्ट अप कम्पनीहरूको लगानी टेक्नोलोजी विस्तारमा धेरै भएको कारण नयाँ उत्पादन केही ‘स्लो’ भएको उत्पादक कम्पनीहरू नै बताउँछन् ।
चिनियाँ सरकारी लगानीका कम्पनी चेरी, एसएआइसी, एफएडब्लू, बेइजिङ अटोवर्क, डोङफेङ, चांगान जस्ता ब्राण्डले आफ्ना केही मोडल देखाएका छन् । तर, अधिकांश मोडल महंगा र हाइब्रिड टेक्नोलोजीलाई केन्द्रमा राखेर बनेका हुन् ।
त्यसैले, नेपाल अहिले जसरी पेट्रोल र ईभीको विषयमा नीति लिएको छ । त्यसमा हाइब्रिड सम्बन्धी नीति पनि प्रस्ट पार्नुपर्ने देखिन्छ । विश्वभर ईभीभन्दा हाइब्रिडको बिक्री तीव्र गतिमा विस्तार हुने कुरामा दुईमत छैन ।
मोडलै पिच्छे ब्राण्ड
चिनियाँ उत्पादकले ल्याउने हरेक माेडललाई फरक ब्राण्ड नेममा ल्याउन थालेका छन् । त्यसोगर्दा बजार विस्तार गर्न सहज हुने उत्पादकहरूको बुझाइ छ । मोडल नै पिच्छे ब्राण्ड बनाएर जाँदा एउटै बजारमा फरक बिक्रेता राख्न सजिलो हुने भएको कारण पनि उनीहरूको ध्यान त्यता गएको हुन सक्छ । तर, कालान्तरमा हाम्रो जस्तो सानो बजारलाई त्यसको फाइदाभन्दा घाटा धेरै हुनसक्छ ।

यदि, कुनै बिक्रेताले ल्याएको मोडल निश्चित समयपछि नबिक्ने अवस्था आयोभने त्यसको बेफाइदा पहिला गाडी किनेकालाई हुनसक्छ । त्यसैले मुख्य कम्पनीको आधिकारिक बिक्रेता भएको खण्डमा लगानी विस्तारदेखि सर्भिसमा निश्चितता पाइन्थ्यो । उपभोक्ता ढुक्क हुन्थे ।
उड्ने गाडीमा ध्यान केन्द्रित
अटो सांघाईमा सहभागी ठूला सबै ब्राण्डको ध्यान उड्ने कारमा देखिन्छ । एक्सपेङ, चेरी, जीएसीदेखि साना कार ब्राण्डको ध्यान पनि उड्ने कारमा देखिन्छ । चीनमा उड्ने कारको चर्चा हरेक गल्लीमा हुन थालेको हामीले पायौं ।
आमसर्वसाधारणमा पनि अब उड्ने कार आउँछ भन्ने कुरा चीनले पार्न सफल भएको रहेछ । त्यसैले उत्पादकहरूको ध्यान पनि त्यसमै केन्द्रीत भएको सहजै देख्न सकिन्छ ।
नेपाललाई काम लाग्ने उत्पादन
अहिले बजारमा रहेका ब्राण्डहरू एमजी, ओमोडा एण्ड जेको, डोङफेङ, बीवाइडी, लीपमोटर जस्ता ब्राण्डले देखाएको सीमित प्रोडक्ट मात्रै तत्काल नेपालमा पनि आउन सक्ने देखिन्छ । त्यसका अलावा धेरै उत्पादन नेपाली बाटो र उपभोक्ताको खरिद गर्ने क्षमताको लागि खासै उपयोगी छैन ।

हाइब्रिडमा सरकारले कुनै विशेष सुविधा दिन सकेको खण्डमा भने बजारमा आउन सक्ने थुप्रै कार मोडल थपिने छन् । अन्यथा ईभीमा देखाइएका धेरै प्रोडक्ट हाम्रो बजार सुहाउँदो छैन ।
एमजी साइबर एक्स, ओमोडा एण्ड जेकोको जे-५ र भी-२३ जस्ता मोडल हाम्रो बजारको लागि उपयुक्त हुन सक्छन् । डोङफेङ नामी-०६, लीपमोटर बी-१०, जीकर सेभेन एक्स जस्ता मोडल पनि हाम्रो बजारमा उपभोक्ताले मन पराउने मोडलमा पर्न सक्छन् । बीवाइडी सिलाइन ५ र ६ पनि हाम्रो बजारमा आउने मोडलमा पर्छन् ।
जापानी उत्पादनको ईभी प्रेम
सांघाई अटो शोमा देखिएको अर्को रमाइलो पक्ष जापानी कार निर्माताको ईभी प्रेम हो । करिब दुई वर्ष अगाडिसम्म ईभीबाट निकै टाढा रहेको टोयोटाले बीजेड सिरिजमा दुई मोडल देखाएको छ । उसले बीजेड-५ को प्रिसेल्स सुरू गरेको छ । साथै, बीजेड-७ कन्सेप्ट देखाएको छ ।

लेक्सस, निसान, माज्दा, होन्डा जस्ता जापानी ब्राण्डको ध्यान पनि ईभीमै केन्द्रीत भएको पाइन्छ । विशेषगरी चिनियाँ पार्टनर कम्पनीसँग मिलेर उनीहरूले ईभी विकास गरेका हुन् ।
अन्त्यमा, नेपाल सरकारले ईभीमा बनाएको योजना जस्तै हाइब्रिडमा पनि ठोस नीति लिन आवश्यक देखिन्छ । त्यसले समग्र अटोमोबाइल क्षेत्रमा चलिरहेको विकासको फाइदा दिनेछ ।

