काठमाडौं । जापानी जटोमोबाइल्स जाइन्ट टोयोटाले दुई दिन अगाडि आफ्नो सफल कम्प्याक्ट एसयूभी र्याभफोरको छैटौं जेनेरेशन मोडल विश्वलाई देखायो । केही महिना भित्रै बजारमा बिक्री सुरू हुने र्याभफोर अब हाइब्रिड इन्जिनमा मात्रै उपलब्ध हुने भएको हो ।
हाइब्रिडमा मात्रै उपलब्ध हुने टोयोटाको सर्वाधिक बिक्री हुने मोडल र्याभफोरमा रहेका फिचरहरू सबै ईभीबाट प्रेरित रहेको बताइन्छ । टोयोटाले आफ्नो बीजेड सिरिजबाट प्रेरित रहेर र्याभफोर तयार पारेको हो । त्यसैले यसमा उपभोक्ताले धेरै कुरा ईभीको जस्तै भेटाउन सक्नेछन् ।
विश्व अटोमोबाइल बजारमा हाइब्रिडको कुरा आउँदा निर्विवाद टोयोटा च्याम्पियन हो । तर, ईभी र प्लगइन हाइब्रिडमा जाने बित्तिकै ऊ निकै पछाडि देख्न सकिन्छ । यसअघि पनि टोयोटाले र्याभफोर र प्रियस मोडललाई प्लगइन हाइब्रिडमा उपलब्ध गराएको थियो । तर, पनि त्यसको चर्चा खासै हुँदैन ।
बल्ल अहिले आएर टोयोटाको र्याभफोर हाइब्रिडले चर्चा पाएको छ । त्यसको मुख्य कारण करिब ब्याट्रीबाट ८० किलोमिटर रेन्ज र ब्याट्री चार्ज गर्न डिसी चार्जर प्रयोग गर्न मिल्ने भएर हो ।

टोयोटाले पहिलो पटक आफ्नो हाइब्रिड कार सजिलै छुट्याउन सकियोस् भनेर सेल्फ चार्जिङ हाइब्रिड र प्लगइन हाइब्रिड नाम दिएको छ । अब केबल हाइब्रिड इन्जिनमा मात्रै उपलब्ध हुने नयाँ जेनेरेशन र्याभफोर मोडलमा २।५ लिटर फोर सिलिण्डर इन्जिन दिने छ ।
सेल्फ चार्जिङ हाइब्रिडको फ्रन्ट ह्वील ड्राइभ अप्सनले इन्जिन र इलेक्ट्रीक मोटरले संयुक्त पावर २३९ हर्स पवार छ । जुन अहिले बजारमा रहेको र्याभफोरको तुलनमा १७ हर्स पावर बढी हो ।
टोयोटाले प्लगइन हाइब्रिड मोडललाई अल ह्वील ड्राइभ सिस्टमको साथ बजारमा ल्याएको छ । यसको संयुक्त पावर ३२० हर्स पावर रहेको छ । जुन अहिले बजारमा उपलब्ध र्याभफोर प्लगइनको भन्दा १८ हर्सपावर बढी हो । सेल्फ चार्जिङ ब्याट्रीको साइज भने १।५ किलोवाट आवरको हुनेछ ।
यसअघि बजारमा बिक्री हुँदै आएको प्लगइन हाइब्रिड र्याभफोरलाई फुल चार्ज गर्न ४ घण्टासम्म लाग्थ्यो । नयाँ मोडलले डीसी चार्जर सपोर्ट गर्ने भएको कारण १० देखि ८० प्रतिशत केबल ३० मिनेटमा चार्ज हुन्छ ।

यहाँ चाखलाग्दो र चर्चा योग्य कुरा के छ भने टोयोटाले परम्परागत ईभीकै जस्तो प्लगइन हाइब्रिडमा पनि सीसीएस–टु चार्जर प्रयोग गरेको छ । यसको सिंगल चार्जमा ८० किलोमिटरको रेन्ज र विकल्पमा पेट्रोल इन्जिन पनि उपलबध रहने भएको कारण धेरैले यसलाई मनपराउन सक्नेछन् ।
र्याभफोरको नेपाल कनेक्सन
सन् १९९४ मा पहिलो पटक बजारमा आएको टोयोटा र्याभफोर संसारभर सर्वाधिक बिक्री भएको कम्प्याक्ट एसयूभी हो । विगत ३१ वर्षमा झण्डै १ करोड ४५ लाख युनिट र्याभफोर बिक्री भइसकेको छ ।
नेपालमा टोयोटाका गाडी तुलनात्मक रूपमा महँगा मानिन्छन् । तर, पनि बलियो नेटवर्क, सहजै पार्ट्स उपलब्ध हुने र जहाँ सुकै बिग्रे पनि साधारण मेकानिक्सले पनि गाडी ठिक बनाउने भएको कारण पैसा भएका मानिसले र्याभफोर खरिद गर्ने गरेका छन् ।
नेपालमा अहिलेसम्म ९८७ युनिट टोयोटा र्याभफोर बिक्री भएको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले जनाएको छ । चाँडै नेपालमा १ हजार युनिट बिक्री पूरा गर्ने अवस्थामा टोयोटा र्याभफोर देखिन्छ ।


