काठमाडौं । जेठ लागेसँगै काठमाडौंको चोभारस्थि सुख्या बन्दरगाह विद्युतीय सवारी साधन (ईभी)ले भरिभराउ भएको छ ।
आगामी वर्षको बजेटमा ईभीको कर बढ्ने हल्लासँगै व्यवसायीहरूले अन्धाधुन्दा गाडी आयात गर्दा चोभार सुख्खा बन्दारगाह भरिएको हो ।
व्यवसायीहरूले मुख्यगरी रसुवागढी र तातोपानी नाका हुँदै ल्याएका गाडीहरू भन्सार जाँचपासपछि चोभारमा पार्किङ गरेर राखेका हुन् । साथै, अहिले सिधै चोभारबाटै भन्सार जाँचपास गर्न सकिने भएकाले केही गाडी जाँचपासका लागि पनि ल्याइएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार हाल चोभार सुख्खा बन्दरगाहमा १ हजार ४५० युनिट सवारी साधन रहेका छन् । जसमा १ हजार ५० युनिट चारपाँग्रे र ४०० युनिट दुईपाँग्रे सवारी साधन रहेका छन् ।
कुन ब्राण्डका कति ?
इन्टरमोडल विकास समितिका अनुसार हाल चोभारमा १० कम्पनीले आयात गरेको सवारी साधन राखिएको छ । जसमा सबैभन्दा धेरै सांग्रिला इन्टरनेशनल फ्रेटले आयात गरेको हिरो ब्राण्डका ४०० युनिट मोटरसाइकल छन् ।
कारतर्फ सीजी मोटर्सको सबैभन्दा धेरै २९३ युनिट रहेको छ सीजीले एवोन भी, एक्सपेङ, दायुन, अवतार, नेटा ब्राण्डको ईभी आयात गर्छ ।
त्यस्तै, एमएडब्लू वृद्धि मोटर्सले २११ युनिट कार ल्यार राखेको छ । एमएडब्लूले दीपल, नामी, सेरेस ब्राण्डका कार आयात गर्छ ।
त्यसैगरी, एसपीजी अटोमोबाइल्सले आयात गरेका १३९ युनिट कार छन् । एसपीजीले ओमोडा/जेको ब्राण्डका ईभी आयात गरेको हो ।
त्यसैगरी, पायोनियर मोटो कर्पको ५ युनिट, सांग्रिला मोटर्सको ७९ युनिट (लीप मोटर, जीकर ब्राण्ड), जगदम्बा मोटर्सको (प्रोटोन) १२३ युनिट र सांग्रिला इन्टरनेसनल फ्रेटको ११८ युनिट कार रहेको छ ।
त्यस्तै, चोभारमा एनईभी नेपालले ७२ युनिट भ्यान र १ युनिट बस, प्रज्ञान मोटर्सले ५ युनिट भ्यान र साइमेक्स इंक (बीवाइडी)ले ४ युनिट बस राखेको छ ।