काठमाडौं । दीपलले आफ्नो फ्ल्यागशिप एसयूभी एस-०९ को बिक्री थालेको छ । सांघाई अटो शो २०२५ मा प्रदर्शनी गरेको आफ्नो ठूलो एसयूभी चीनमा बिक्री सुरु गरेको हो ।
बिहिबार लन्च भएको एस-०९ एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (इआरइभी) भेरियन्टमा मात्रै बिक्री सुरु भएको हो । ६ सिट क्षमतामा आएको एस-०९ को लम्बाइ ५२०५ एमएम, चौडाइ १९९६ एमएम र उचाइ १८०० एमएम छ । यसमा ३१०५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
दीपलले लन्च गरेको एस-०९ को सुरुवाती मूल्य ३३ हजार ३१० अमेरिकी डलर तोकिएको छ । यो मूल्य चीनमा बिक्री हुने ठूला एसयूभी मध्ये सबैभन्दा कम हो । कम्पनीले लन्च भएको केही घन्टामा नै २१ हजार १६८ युनिट बुकिङ पाएको थियो ।
चिनियाँ कार निर्माताले एस-०९ मा १.५ लिटर इन्जिन दिएको छ । उक्त इन्जिनले रेन्ज एक्सटेन्डरको काम गर्छ । रियर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध एसयूभीको पछाडि ह्वीलमा २३१ किलोवाटको मोटर दिएको छ । फोर ह्वील ड्राइभ अप्सनमा फ्रन्टमा १३१ र पछाडि २३१ किलोवाट मोटर छ ।
दीपलले एस-०९ मा ४०.१८ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री प्याक दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा २२० किलोमिटरसम्म रेन्ज दिनेछ ।
भेरियन्ट अनुसार हुवावेको एडीएस एसइ वा एडीएस म्याक्स ड्राइभ असिस्ट सिस्टम यसमा दिइएको छ ।
आउला नेपाल ?
दीपलका कार नेपाली सडकमा बाक्लै गुडिरहेका छन् । सरकारले हाइब्रिडमा केही कर छुट दिने हो भने एस-०९ नेपाल आउने सम्भावना धेरै छ । ठूलो एसयूभी, राम्रो रेन्ज र दीपलको नेपालमा सफलताको कारण यसलाई नेपालमा बिक्री गर्न पनि सहज हुने अनुमान गर्न सकिन्छ ।
दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले नयाँ मोडल नेपाल ल्याउने विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

