काठमाडौं । अस्ट्रीयन मोटरसाइकल ब्राण्ड केटीएमले आफ्नो पहिलो इलेक्ट्रीक मोडलको प्रोटोटाइप देखाएको छ । कम्पनीले अस्ट्रीयाको म्याटिघोफेन फ्याक्ट्रीमा ‘ई-ड्यूक’ नाम दिएर नयाँ इलेक्ट्रीक मोटरसाइकल देखाएको हो ।
कम्पनीले स्ट्रीट फाइटर डिजाइनमा तयार पारेको ई-ड्यूक मोटरसाइकलको प्रोटोटाइप देखाइएको छ । मोटरसाइकल देखाएको कम्पनीले ई ड्यूकको कुनै स्पेसिफिकेसन बाहिर ल्याएको छैन ।
नयाँ सबफ्रेममा तयार भएको ई-ड्यूक सार्प बडीवर्क र पृथक हेडलाइटमा देखिएको छ । विभिन्न रिपोर्टहरुका अनुसार यसमा ५.५ किलोवाट आवरको ब्याट्री प्याक र १० किलोवाटको इलेक्ट्रीक मोटर रहने छ । उक्त ब्याट्रीले सिंगल चार्जमा १०० किलोमिटर हाराहारीमा रेन्ज दिनेछ ।
केटीएम ई-ड्युक ३९० ड्यूककै प्लेटफर्ममा निर्माण गरिएको हो । यसमा ट्रेलिस फ्रेम, एलमुनियम स्विंगआर्म, अफसेट रियर मोनोसक, अलोय ह्वील, चेन ड्राइभ, डिस्क ब्रेक र एबीएस पनि ३९० मै प्रयोग भएकोलाई निरन्तरता दिन लागिएको छ ।
लामो ह्यान्डलबार, ४.३ इन्चको टीएफटी डिस्प्ले, अनबोर्ड फास्ट चार्जर, स्कुटर स्टाइलको रियर ब्रेक ह्यान्ड लिबर र मोटोजीपी प्रेरित एयर स्कुपसँगै थ्रीडी प्रिन्टेड सिट दिइएको छ । सम्भवत कम्पनीले यसको उत्पादन भारतीय प्लान्टबाट गर्नेछ ।

