काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी)मा लाग्दै आएको करलाई यथावत राखेसँगै बजारमा दुई किसिमको चर्चा सुरू भएको छ ।
पहिलो चर्चा कर बढ्ने हल्लाले व्यवसायी उत्साहित भएर गाडी ल्याए, अनि फसे । दोस्रो, चाँडै बजारमा प्राइस वार सुरू हुन्छ र उपभोक्ताले फाइदा पाउँछन् ।
माथि, चर्चामा रहेका दुवै कुरा सत्य हुन् । विगतमा सधैं व्यापारी आफैँ कर बढ्छ भन्ने हल्ला चलाउन सुरू गर्थे । यसपटक पनि सोही बेथेतिलाई निरन्तरता दिए । आफैंले बजारमा ईभीमा ठूलो दरमा कर बढ्छ भन्ने हल्ला फैलाए । व्यवसायीको अनुमान अर्थात् ईभीको कर बढ्ने हल्ला बारे खुबै ‘मिडिया ट्रायल’ भयो । आफूलाई मेनस्ट्रिम मान्ने धेरै मिडियाले ईभीमा कर बढ्ने भनेरै समाचार लेखे । त्यसको फाइदा कसलाई भयो, त्यता चर्चा नगरौं ।
मिडियामा समाचार देखेका र आफैँ लेखाउन लगाएका दुवै थरी व्यवसायीले आफ्नो आर्थिक हैसियतले थाम्नेसम्मको गाडी मगाए । उनीहरूले गाडी मगाउनुको पहिलो कारण कर वृद्धि भएपनि राम्रै संख्यामा गाडी बिक्री गर्न सकिन्छ भनेर देखाउनु थियो । चर्को प्रतिस्पर्धाका कारण धेरैभन्दा धेरै गाडी बिक्री गर्ने र आफ्नो ब्राण्डको अलग पहिचान बनाउनु पर्ने दबाबको कारण पनि धेरै संख्यामा गाडी आयात भएका थिए । आफैँले चलाएको हल्ला उनीहरू आफैँलाई सत्य लाग्ने अवस्था आयो ।
भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ४५ दिनमा करिब ५ हजार ३०० युनिट विद्युतीय कार नेपाल आएका छन् । त्यसअघिको गाडी झण्डै २ हजार हाराहारी स्टक रहेको अनुमान गरिएको छ । यसरी हेर्दा अहिले बजारमा ७ हजार युनिटभन्दा बढी ईभी स्टकमा छन् । यसले बजारको दिशा र दशा दुवै परिवर्तन गर्ने आँकलन गर्न सकिन्छ ।
अहिले बजारमा रहेको ७ हजार ईभी बिक्री गर्न झण्डै एक वर्ष लाग्ने सरकारी अनुमान कै कारण पनि ईभी करका दर परिवर्तन नभएको अनुमान गरिएको छ । यस विषयमा भन्सार विभागको पनि सहमति देखिन्छ । भन्सार विभागका एक वरिष्ठ अधिकृत भन्छन्, ‘एक वर्ष बिक्री गर्न पुग्ने गाडी ४५ दिनमै आयो । कर वृद्धि गरेर राज्यले फाइदा पाउने अवस्था थिएन । त्यसैले कर यथावत राखियो ।’
तीव्र प्राइसवार देखिने
अब बजारमा अर्को प्रतिस्पर्धा देखिने अनुमान गर्न सकिन्छ । तत्काल केही नदेखिए पनि साउन लागेसँगै प्रतिस्पर्धा तीव्र हुनेछ । यस पटक भृकुटीमण्डपमा दुई वटा अटो शो आयोजना हुँदैछ । त्यसैले व्यवसायीहरूले अटो शो मार्फत प्राइसवार गर्ने अनुमान गर्न सकिन्छ ।
चिनियाँ बजारमा निकै कडा प्राइसवार चलिरहेको छ । जसले बजारमा कम गाडी मगाएका छन्, उनीहरूले तत्कालै कम मूल्यमा गाडी आयात गर्ने सम्भावना पनि त्यतिकै छ । साथै, दर्जनौं नयाँ मोडल नेपाल आउने क्रममा छन् । ती नयाँ मोडल आउन थालेसँगै मूल्य निकै प्रतिस्पर्धी हुनेछ । यस्तो अवस्थामा अहिले स्टकमा रहेका गाडी बिक्री गर्न कम्पनीहरूले मूल्य घटाघटको चक्र चलाउने छन् ।
ईभी किन्नेलाई स्वर्ण वर्ष बन्ने
ईभीको लागि २०८२ साल स्वर्ण वर्ष बन्ने निश्चित प्रायः छ । उत्पादकले निकै प्रतिस्पर्धी मूल्यमा गाडी दिन थालेका छन् । ब्याट्रीको लागत कम भइरहेको छ । सरकारले कर यथावत राखिदिएसँगै ईभीको मूल्य बढ्ने छैन । बरू तीव्र प्रतिस्पर्धाले १५ देखि २० प्रतिशत मूल्य घट्ने अवस्था देखिन्छ ।
अहिले बजारमा रहेका मोडलका अतिरिक्त २०८२ सालमा झण्डै दुई दर्जन नयाँ मोडलका ईभी बजारमा आउने छन् । झण्डै ४० ब्राण्डका उत्पादन उपलब्ध बजारमा ईभीको ओभर सप्लाइ चलिरहेको छ । त्यसमाथि आएर थुप्रेका स्टकले मूल्य घटाघट गर्न व्यवसायीलाई बाध्य बनाउने छ । त्यसको सिधा फाइदा उपभोक्ताले पाउने छन् ।


