अन्य नाकाबाट ईभी आयात बढ्दा वीरगंजबाट ६० प्रतिशतले घट्यो

काठमाडौं । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चारपाँग्रे विद्युतीय सवारी साधन (ईभी) आयात ह्वातै घटेको छ ।

चालु आवको वैशाखसम्म यो नाका हुँदै ४२ करोड मूल्य पर्ने १७४ युनिट विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ । संख्याका आधारमा यो गत वर्षको सोही अवधिको तुलनामा ६१.१६ प्रतिशत कम हो ।

गत आवको १० महिनामा भने ९५ करोड मूल्यका ४४८ युनिट विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । मुख्यगरी भारत लगायत तेस्रो देशबाट आयात हुने सवारी साधन भैरहवा नाका हुँदै आयात हुन थालेपछि वीरगंजबाट भित्रिनेको संख्या घटेको हो ।

चालु आवमा वीरगंज हुँदा आयात हुने कुल चारपाँग्रे सवारी साधनमा पनि उच्च गिरावट आएको छ । वैशखसम्म वीरगंजबाट १ अर्ब ५३ करोड मूल्य पर्ने ७३५ युनिट इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् ।

जबकि आव २०८०र८१ को वैशाख मसान्तसम्मको अवधिमा भने २ अर्ब ७ करोड मूल्य पर्ने १ हजार २६७ युनिट जीप, कार र भ्यान सवारीसाधन आयात भएर भित्रिएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्लो समय वीरगञ्जभन्दा मुलुकका अन्य नाकाबाट धेरै सवारीसाधन आयात हुने बताउँछन् ।

इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको आयात घटेसँगै कार्यालयले प्राप्त गर्ने राजस्वको रकममा पनि गिरावट देखिएको छ । चालु आवको १० महिनामा इन्धनबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनबाट ४ अर्ब ३ करोड राजस्व सङ्कलन भएको छ । तर, गत आवको सोही अवधिमा भने ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालु आवको १० महिनामा ट्रक, मिनि ट्रकको आयात पनि खुम्चिएको छ । सो अवधिमा ५३ करोड मूल्यका २३१ युनिट ट्रक, मिनिट्रक आयात भएका छन् । जबकी गत आवको सोही अवधिमा भने २ अर्ब १२ करोड मूल्य पर्ने ७६४ युनिट ट्रक तथा मिनि ट्रक आयात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा २६ थरिका साना÷ठूला सवारीसाधन गरेर १८ अर्ब ५२ करोड मूल्यका सवारीसाधन आयात भएका छन् ।

ती सवारीसाधन आयात हुँदा कार्यालयले भने १५ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको वैशाख मसान्तसम्मको अवधिमा १७ अर्ब ५ करोड मूल्यका २६ थरिका २ करोड ७० लाख २२ हजार २२२ युनिट सानारठूला सवारीसाधन आयात भएका छन् । ती सवारीसाधनको आयातबाट कार्यालयल १३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।


Back_to_top