ट्रम्पको एउटा भनाइपछि टेस्लामा सेयर मूल्यमा ‘इतिहासकै ठूलो’ गिरावट

ठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भनाइपछि टेस्लाको सेयर मूल्यमा इतिहासकै ठूलो गिरावट आएको छ ।

बिहीबार एकैदिन टेस्लाको सेयर मूल्य १४.२६ प्रतिशत अर्थात् प्रतिकित्ता ४७.३५ डलरले घटेको हो । कारोबार खुल्दा प्रतिकित्ता ३२२.६१ डलर रहेको टेस्लाको सेयर मूल्य २८४.७० डलरमा आइपुगेको छ । एकैदिन कम्पनीको बजार मूल्यमा करिब १५० अर्ब डलर घटेको हो ।

टेस्लाको सेयर मूल्य एकैदिनमा यति धेरैले घटेको इतिहासमै पहिलो पटक भएको रोयटर्सले जनाएको छ ।

बिहीबार ट्रम्पले मस्कको कम्पनीसँ सरकारी सम्झौता रद्द गर्ने धम्की दिएपछि टेस्लाको सेयर मूल्यमा भारी गिरावट आएको हो ।

रोयटर्सका अनुसार ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा सरकारको अर्बौं डलर बचाउन इलनका सरकारी अनुदान र सम्झौताहरू रद्द गर्ने बताएका थिए। ‘इलन र मेरो सम्बन्ध राम्रो थियो, अब त्यो रहन्छ कि रहँदैन, थाहा छैन,’ ट्रम्पले भनेका छन्।

ट्रम्पको उक्त भनाइपछि मस्क पनि प्रतिवादमा उत्रिएका छन् । मस्कले ट्रम्पविरूद्ध महाभियोग लगाउनुपर्ने बताएका छन् । मस्कले एक्समा एक प्रयोगकर्ताले ट्रम्पलाई महाभियोग लगाउनुपर्छ भनेर लेखेको पोस्टलाई रिपोस्ट समेत गरेका छन् ।

त्यस्तै, मस्कले ट्रम्पलाई आफूले राष्ट्रपति बनाएको बताए। ‘म बिना ट्रम्पले चुनाव हार्थे,’ मस्कले भनेका छन् । मस्कले ट्रम्पलाई चुनाव जिताउन करोडौं डलर खर्च गरेका थिए।

मस्क एक साता अघि मात्रै ह्वाइट हाउसबाट बाहिरिएका थिए। डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुखका रूपमा रहेका मस्क गत शुक्रबार ह्वाइट हाउसबाट बाहिरिएका थिए ।


Back_to_top