काठमाडौं । कुनै समय थियो एसयूभी भनेको प्राडो, ल्याण्ड क्रुजर र पजेरोको नाम आउँथ्यो । विस्तारै टोयोटाको र्याभफोर, निसान एक्सट्रेल, मित्सुवीसी आउट ल्याण्डर जस्ता मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आए ।
सबै जापानी उत्पादन भएको कारण नेपालमा मूल्य पनि धेरै थियो । विस्तारै भारतमा एसयूभी डिजाइनमा गाडी उत्पादन सुरु भयो । नेपाली सडकमा पनि भारतबाट आएका एसयूभीको प्रभुत्व कायम भयो । अहिले विस्तारै त्यो सर्दै चिनियाँ उत्पादनमा पुगेको छ ।
पर्फेक्ट एसयूभी बन्न गाडीमा उच्च ग्राउन्ड क्लियरेन्स, फोर ह्वील ड्राइभ सुविधा, पृथक बडी डिजाइन जस्ता कुरा अनिर्वाय हुन्छ । तर, अहिले बजारमा आउने कम्प्याक्ट एसयूभीमा यी फिचर छैनन् । तथापि, विश्वभर नै यस्ता गाडीलाई क्रसओभर एसयूभी नै बोलिन्छ ।
नेपालमा कुनै समय ६० प्रतिशत बजार ह्याचव्याक कारको थियो । अहिले त्यो संख्यामा ठूलो परिवर्तन आएको छ । अहिले क्रसओभर एसयूभी सेग्मेन्टको बजार हिस्सा ६० प्रतिशत माथि पुगेको छ । अब त साना साना कार पनि एसयूभी डिजाइनमा आउन थालेका छन् । यस्तोमा नेपालमा एसयूभी धेरैको रोजाइमा पर्नुको मुख्य कारणका विषयमा यहाँ चर्चा गरिएको छ ।
सडकको दुराअवस्था: सडककै कारण नेपालमा गाडी किन्नेले एसयूभी खोज्छन् । हाम्रा हाइवे नै बम्पी छन् । खाल्डा खुल्डीले भरिपूर्ण हाइवे यात्राको लागि भएपनि एसयूभी खोज्ने धेरै छन् । एसयूभीमा उच्च ग्राउन्ड क्लियरेन्स हुने र बलियो बनावट हुने भएकाले सहज यात्रा गर्न एसयूभी खोज्छन् ।
फ्यामली एसयूभी: अहिले बजारमा रहेका कम्प्याक्ट कारहरु ४/५ जनाको परिवारको लागि पर्फेक्ट मानिन्छ । पर्याप्त ठाउँ र बुट स्पेस पाउने भएका कारण छोटो दुरी होस् वा हाइवे दुबैको लागि यस्ता एसयूभी उपयोगी हुन्छन् ।

बिद्युत र इन्धन दुबैमा पाइने: अहिले नेपालमा कम्बस्चन इन्जिन भएका एसयूभी भन्दा धेरै विद्युतीय एसयूभी छन् । निकै किफायति मानिने भएको कारण जुनबाट चल्ने भएपनि एसयूभी नै खोज्ने गरेको पाइन्छ । यदि, विद्युतीय एसयूभी छ भने त्यसको रनिङ कस्ट २ रुपैयाँ प्रतिकिलोमिटर हाराहारी पर्छ । होइन इन्धनबाट चल्ने छ भने पनि प्रतिलिटर १० देखि १४ किलोमिटरसम्म माइलेज पाइन्छ ।
आधुनिक सुविधा र डिजाइन: टचस्क्रिन, रियर क्यामेरा, सनरुफ, एयरब्याग, एडास फिचर, ३६० डिग्री क्यामेरा जस्ता कुरा एसयूभीमा वेसिक भएका छन् । यसले गर्दा जो कसैलाई सहजै आकर्षित गर्नेछ ।
निष्कर्ष
कम्प्याक्ट एसयूभीहरूले नेपालको सडक अवस्था, बजेट, आधुनिक सुविधा र कर नीतिसँग मेल खाएर लोकप्रियता कमाएका हुन् । उपभोक्ताले सेडान वा ह्याचव्याक कारको तुलनामा बढी फाइदा देख्दा एसयूभीमा गएका हुन् । अर्को मुख्य कारण विश्वभर एसयूभीको क्रेज तिब्रगतिमा विस्तार हुँदै गएको छ । यस्तोमा नेपाल अछुतो रहनै सक्दैन ।


