काठमाडौं । इलेक्ट्रीक एसयूभीमा धेरै छनोट उपलब्ध भएसँगै ब्राण्डहरू बीच नै कडा प्रतिस्पर्धा सुरू भएको छ । यही प्रतिस्पर्धाको दौडमा चिनियाँ अटोमाबाइल ब्राण्ड चेरीको न्यू इनर्जी ब्राण्ड ओमोडा र हुन्डाईको चर्चित मोडल क्रेटा ईभी बीच प्रतिस्पर्धा देखिएको हो ।
ओमोडा ई-५ नेपाली बजारमा सन् २०२४ को फेब्रुअरीमा लन्च भएको हो । फिउचरिस्टिक डिजाइन र कुपे स्टाइल एसयूभी बडी भएको कारण यसले छोटो समयमा राम्रै सफलता पायो । यसमा प्रयोग भएको आधुनिक प्रविधि र फिचर लोडेड भएको कारण धेरैको ध्यान खिचेको हो ।
नेपालको लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले ओमोडा ई-५ डिलक्स र लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ ।
हुन्डाईको क्रेटा नेपाली अटोमोबाइल क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । सन् २०१६ मा लन्च भएयता सेग्मेन्ट लिडर रहेको हुन्डाईको मिडसाइज कम्याक्ट एसयूभीको इलेक्ट्रीक भर्सन दुई महिना अगाडि मात्रै बिक्री सुरू भएको हो ।
हुन्डाईले भारतीय बजारको लागि भारतमै डिजाइन तथा उत्पादन गरेको क्रेटा ईभी नेपाली बाटोको लागि पनि एकदमै उत्कृष्ट मोडल हो । मार्च अन्तिममा लन्च भए यता हाम्रो सडकमा ३०० युनिटभन्दा धेरै क्रेटा ईभी गुड्न थालिसकेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभीलाई विभिन्न ४ भेरियन्टमा उपलब्ध गराएको छ ।
डायमेन्सन
ओमोडा ई-५ को लम्बाइ ४४२४ एमएम, चौडाइ १८३० एमएम, उचाइ १५८८ एमएम छ । यसमा २६१० एमएम लामो ह्वीलबेस छ । १८ इन्चको ह्वील साइज रहेको ई-५मा ग्राउण्ड क्लियरेन्स १८० एमएम छ ।

त्यस्तै, हुन्डाईको क्रेटा ईभीको लम्बाइ ४२४० एमएम, चौडाइ १७९० एमएम र उचाइ १६५५ एमएम छ । यसमा पनि २६१० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । हुन्डाईले क्रेटा ईभीमा १७ इन्चको ह्वील र ग्राउण्ड क्लियरेन्स २०० एमएम दिएको छ ।
ब्याट्री र मोटर पावर
हुन्डाई क्रेटा ईभीमा ४२ किलोवाट अवारको एनसीएम केमेस्ट्रीको हाई डेन्सीटी ब्याट्रीप्याक छ । क्रेटा ईभीको डब्लूएलटीपी रेन्ज ३२० किलोमिटर छ । यसले ५० किलोवाटसम्मको डीसी फास्ट चार्जर र ११ किलोवाटसम्मको एसी फास्ट चार्जर सपोर्ट गर्छ ।
चीनमा बनेको ओमोडा ई-५ मा ६१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री छ । यसको रेन्ज सिंगल चार्जमा ४३० किलोमिटर रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ । ओमोडा ई-५ लाई ८० किलोवाटको डीसी फास्ट चार्जर र ११ किलोवाटसम्मको एसी चार्जरले चार्ज गर्न सकिन्छ ।
ओमोडाको ई-५ र क्रेटा ईभी दुवैमा ९९ किलोवाट आवरको फ्रन्ट ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले १३३ हर्सपावर दिन्छ । ओमोडा ईभीको ९९ किलोवाटको मोटरले ३४० तथा क्रेटा ईभीको इलेक्ट्रीक मोटरले २५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
क्याबिन फिचर
ओमोडा ई-५ मा १०.२५ इन्चको कनेक्टेड ड्युल स्क्रीन सेटअप छ । यसको इन्फोटेन्मेन्टले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । यसको क्याबिनमा २५६ एम्बियन्ट लाइट, सनरुफ, ५० वाटको वायरलेस चार्जर, ३६० डिग्रीको सराउण्ड भ्यू क्यामरा, हिल कन्ट्रोल, पावर्ड तथा भेन्टिलेटेड फ्रन्ट सिट, ८ वटा सोनीको स्पीकर, डिउल जोन अटोमेटिक एसी उपलब्ध छ ।

सुरक्षको लागि ई-५मा ७ वटा एयरब्याग, एबीएस, ईबीडी, बीएएस, अटो होल्ड हिल डिसेन्ट कन्ट्रोल सहित लेबल २ एडास फिचर छ ।
क्रेटा ईभीमा पनि कनेक्टेड डिउल स्क्रीन दिएको छ । यसमा प्यारोमिक सनरुफ, पावर्ड तथा मेमोरी फिचर सहितका भेन्टिलेटेड फ्रन्ट सिट, भोइस असिस्ट सनरुफ कन्ट्रोल, ड्युल जोन अटोमेटिक एसी, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, रिजेरेटिभ ब्रेकिङको लागि प्याडल सिफ्टर, वायरलेस चार्जर, भेहिकल टु लोड जस्ता फिचर छन् ।
सुरक्षाको लागि हुन्डाईले क्रेटा ईभीमा ६ वटा एयरब्याग, हिल असिस्ट तथा स्मार्टसेन्स लेबल २ एडास फिचर दिएको छ ।
मूल्य
क्रेटा ईभी एक्जुकेटिभ, स्मार्ट, स्मार्ट ओ र प्रिमियम प्लस गरी ४ भेरियन्टमा उपलब्ध छ । यसको मूल्य ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजार रुपैयाँसम्म छ ।
ओमोडा ई-५ डिलक्स र लग्जरी गई दुई भेरियन्टमा किन्न पाइन्छ । कम्पनीले यसको मूल्य ५५ लाख ९९ हजारदेखि ६१ लाख ९९ हजार रुपैयाँसम्म कायम गरेर बिक्री गरिरहेको छ ।


