वीरगंज नाकाबाट ११ महिनामा भित्रिए साढे ५९ हजार सवारी साधन

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोड रुपैयाँ इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १५ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

चालु आवको ११ महिनामा ५ अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । त्यसबाट ५ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छ भने २ अर्ब ६३ करोडका १ हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यस्तै सोही अवधिमा १ अर्ब ८० करोडका ८३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।

त्यसैगरी, चालु आवको ११ महिनामा १ अर्ब १६ करोड मूल्य पर्ने ५ हजार २२० ट्र्याक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा १ अर्ब २ करोड मूल्यका ३७४ वटा बस, ६७ करोड रुपैयाँ मूल्यका १३१ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् । सोही अवधिमा ६६ करोड रुपैयाँ मूल्यका २७६ वटा ट्रक, मिनीट्रक आयात भएका छन् ।

त्यस्तै, सोही अवधिमा ३९ करोड मूल्यका चार हजार १६० वटा तयारी मोटरसाइकल आयात भएका छन्भने सोही अवधिमा १ अर्ब ८४ करोड २३ लाख रुपैयाँका सानाठूला २ हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् । ती विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।

समग्रमा चालु आवको ११ महिनामा सवारीसाधन र तिनका पार्टपुजा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।


Back_to_top