काठमाडौं । टाटा मोटर्सले अबको केही महिना भित्रै बिक्री सुरू गर्न लागेको सियरा एसयूभी कन्सेप्ट सार्वजनिक भएदेखि नै चर्चामा रहेको मोडल हो । यसअघि पनि टाटाले सियरा नामबाट गाडी ल्याएको कारण धेरैले यसलाई नयाँ जेनेरेशन भन्छन् ।
टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा तयार भएको सियरा प्रिमियम गाडी खोज्नेको लागि उत्तम मोडल हो । यसको लगभग उत्पादन मोडल कम्पनीले भारत मोविलिटी एक्स्पो २०२४ मा देखाएको थियो ।
एक्स्पोमा छिट्टै बजारमा आउने घोषणा भएको सियरा एसयूभी केही महिना ढिलो गरी आउन लागेको छ । तर, यसमा रहने धेरै कुरा कम्पनीले बाहिर ल्याइसकेको कारण सियरामा के कस्ता फिचर रहन्छन् भन्ने जानकारी दिन सकिन्छ ।
टाटाको एसयूभी लाइनअपलाई नै माथि उठाउन सक्ने अनुमान गरिएको सियरा एसयूभी यही वर्ष बजारमा आउने छ । अहिलेसम्म बाहिर आएका ५ विषयका आधारमा अब्बल बन्न सक्ने कुराहरुको बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
दुई इन्धन अप्सन
टाटा मोटर्सले सियरा एसयूभीलाई पेट्रोलियम पदार्थ र विद्युतबाट चल्नेगरी ल्याउन लागेको छ । खासगरी ईभीको लागि डिजाइन गरिएको एसयूभीमा इन्जिन पनि दिएर ल्याउन लागिएको हो ।
दुई फरक इन्धन अप्सन भएपनि गाडीको डिजाइन एउटै हुनेछ । बक्सी डिजाइनमा तयार भइरहेको एसयूभी निकै एरोडाइनामिक पनि छ ।

अलह्वील ड्राइभमा आउने
टाटाले केही दिन अगाडि ल्याएको ह्यारीयर ईभीमा अलह्वील ड्राइभ सिस्टम दिएको छ । त्यसैको निरन्तरता सियरामा पनि हुने देखिन्छ । टाटाले अफरोडमा पनि निकै सबल र सक्षम बनाउन पेट्रोलियम र इलेक्ट्रीक दुवै अप्सनमा अलह्वील ड्राइभ सिस्टम दिनेछ ।
पावरफुल इन्जिन र मोटर
सियरा ईभीमा रहने मोटर पावरको बारेमा कुनै जानकारी बाहिर आएको छैन । तर, यसको पेट्रोल इन्जिन १.५ लिटर क्षमताको टर्बो चार्ज्ड हुनेछ । उक्त इन्जिनले ५००० आरपीएममा १६८ हर्सपावर र २८० न्यूटन मिटर टर्क प्रदान गर्छ ।
तीनवटा स्कृन
आजकल गाडीमा निकै फेसन बनेको स्क्रीनको मामलामा पनि टाटाले कुनै कसर बाँकी राखेको छैन । कम्पनीका अनुसार यसको ड्यासबोर्डमा ३ वटा स्क्रीन रहनेछ । जसमा प्यासेन्जर र चालकको लागि दुई इन्फोटेन्टमेन्ट सिस्टम र एउटा इन्ट्रुमेन्ट क्लष्टर हुनेछ ।
लाउन्जको अनुभव दिने क्याविन
टाटा मोटर्सले सियरा ईभीमा गरेको अर्को प्रयोग लाउन्जको फिल दिने क्याविन हो । चार सिट क्षमतामा आउने एसयूभीमा प्रसस्त स्थान पाउन सकिन्छ । पछाडिको दुई सिटलाई यात्रुले आफ्नो आवस्यकता अनुसार परिमार्जन गर्ने सुविधा पाउने छन् ।


