काठमाडौं । विद्युतीय गाडीको माग र बिक्री दुवै बढ्दै जाँदा ब्याट्री उत्पादनमा एकपछि अर्को देशले नयाँ खोज र आविष्कार बाहिर ल्याएका छन् । सन् २०२० देखि नै चर्चामा रहेको सोलिड स्टेट ब्याट्री त्यही खोजको एक परिणाम हो ।
अहिले एलएफपी ब्याट्रीमा चीनको वर्चश्व छ । सोलिड स्टेटमा पनि चीनले काम गरिरहेको अनुमान गर्न सकिन्छ । तर, अहिलेसम्म समाचारमा आएका नयाँ ब्याट्री सोलिड स्टेड भने होइन । उनीहरूले पनि यसलाई सेमी सोलिड स्टेट भनेका छन् ।
सोलिड स्टेट ब्याट्रीको क्षेत्रमा जापान, चीन र दक्षिण कोरियाली कम्पनीहरू बीच तीव्र प्रतिस्पर्धा हुने सम्भावना छ । यी तीन एशियाली देशहरू विद्युतीय साधनमा आफूलाई अब्बल बनाउन चाहन्छन् । त्यसैले उनीहरूको ध्यान ब्याट्री टेक्नोलोजीमा देखिन्छ ।
सोलिड स्टेट ब्याट्रीलाई लिथियम-आयन ब्याट्रीको तुलनामा सुरक्षित, उच्च ऊर्जा घनत्व र लामो आयु भएको मानिन्छ । त्यसैले त लिथियम आयोनपछिको अर्को पुस्ताको प्रविधिको रूपमा यसलाई हेरिएको छ ।

जापान
जापान अटोमोबाइलको लागि विश्वकै ठूलो पावर हाउस हो । यहाँ रहेका कार उत्पादकहरू चुप लागेर बस्छन् भन्ने हुँदैन । सोलिड स्टेट ब्याट्रीमा खोज र अनुसन्धान सबैभन्दा बढी जापानी कम्पनी टोयोटाले गरेको छ । टोयोटाका अलवा ब्याट्री उत्पादनमै काम गरिरहेको पानासोनिक, मुराता म्यानुफ्याक्चरिङ र कार निर्माता होन्डाले पनि काम गरिरहेको छ ।
सोलिड स्टेट ब्याट्रीको अनुसन्धान र विकासमा अग्रणी मानिएको जापानले सन् २०२६ बाट उक्त ब्याट्रीको प्रयोग कारमा थाल्ने जनाएको छ । त्यसको नेतृत्व गरिरहेको टोयोटाले सानो साइजको ब्याट्री हाइब्रिड कारमा दिन जानकारी दिइसकेको छ ।
टोयोटासँग सोलिड स्टेट ब्याट्री सम्बन्धित प्याटेन्ट राइट मात्रै १,००० भन्दा बढी छ । जुन यो क्षेत्रमा विश्वमै सबैभन्दा धेरै हो । जापानमा यसको लागि सरकारी तबरबाट पनि ठूलो रकम लगानी गरिएको छ ।
चीन
एलएफपी ब्याट्रीमा अग्रणी चीनमा सोलिड स्टेट ब्याट्रीको चर्चा धेरैनै छ । केही महिना अगाडि चेरीले उहुमा ठूलो कारखाना स्थापना गर्न लागेको समाचारहरू बाहिर आएको थियो । चेरीका अलावा सीएटीएल, एनआईओ र बीवाइडी जस्ता कम्पनी पनि सोलिड स्टेट ब्याट्रीको पछाडि लगानी गरिरहेका छन् ।
चीनको ठूलो बजार, सरकारी सहयोग र कम लागतमा उत्पादन गर्ने क्षमताले उसलाई नयाँ टेक्नोलोजी विस्तार गर्न सजिलो भइरहेको छ । त्यसैको कारण चीनले रेयर अर्थ मेटल र ब्याट्री सामग्रीको आपूर्तिमा प्रभुत्व जमाएको छ । अहिले पनि चिनियाँ कम्पनीहरू आफ्नो उत्पादनलाई ग्लोबल ब्राण्ड बनाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
दक्षिण कोरिया
दक्षिण कोरियाका कम्पनीहरू सामसुङ एसडीआई, एलजी इनर्जी सोलुसन र एसके अन जस्ता कम्पनीहरूले सोलिड स्टेट ब्याट्रीको विकासमा तीव्र गतिमा काम गरिरहेका छन् । एलजी इनर्जी र सामसङ एसडीआईले सन् २०२७ बाट व्यवसायिक उत्पादन थाल्ने अनुमान गरिएको छ ।
एसके अनले पनि सोलिड स्टेट प्रविधिमा लगानी बढाएको छ । तर, कोरियाली कम्पनीहरू जापानी प्याटेन्ट प्रभुत्व र चीनको आक्रमक बजार विस्तार रणनीतिको कारण चेपुवा पर्ने खतरा भनेछ ।

कुन देश अगाडि होला ?
सोलिड स्टेट ब्याट्रीको डिजाइन, इलेक्ट्रोलाइट सामग्री (जस्तै सल्फाइड वा अक्साइड आधारित) र उत्पादन प्रक्रियामा कसले छिटो र प्रभावकारी रूपमा काम गर्छ, त्यसैले यो रेस जित्ने निश्चित छ ।
सोलिड स्टेट ब्याट्रीको उत्पादन लागत अहिले बजारमा चल्तीको लिथियम-आयनको तुलनामा महँगो हुन सक्छ । लागतको दृष्टिकोणबाट चीनले फाइदा लिन सक्छ । तर, युरोप र अमेरिकी बजारमा पहिल्यै बलियो जापानी र कोरियाली कम्पनीले विश्वसनियताको फाइदा उठाउन सक्छन् ।
निष्कर्ष
सोलिड स्टेट ब्याट्रीको क्षेत्रमा जापान, चीन र दक्षिण कोरियाली कम्पनीहरू बीच तीव्र प्रतिस्पर्धा निश्चित छ । जापान प्राविधिक नेतृत्वमा अग्रणी छ, चीन बजार र उत्पादन लागतमा बलियो छ । र, दक्षिण कोरिया प्राविधिक विशेषज्ञता र नवप्रवर्तनमा सन्तुलन राख्दै अगाडि बढ्न सक्षम छ ।
यी तीन एशियाली पावर हाउस बीचको प्रतिस्पर्धाले उपभोक्तालाई उच्च गुणस्तरका ब्याट्री र सस्तो विद्युतीय सवारी साधन उपलब्ध गराउन सक्छ । तर, कुन देशले नेतृत्व लिन्छ भन्ने कुरा प्राविधिक सफलता, उत्पादन मापन र बजार रणनीतिमा भरपर्छ ।


