हुम्लालाई राष्ट्रिय संजालमा जोड्दै खार्पुनाथ बेलीब्रिज, ५० किमी कालोपत्र गर्न ठेक्का लाग्यो

हुम्लाको खार्पुनाथस्थित चुवाखोलमा निर्माणको अन्तिम चरणमा पुगेको बेलीब्रिज । तस्बिर : नेपाली सेना

काठमाडौं । अब कर्णालीको विकट जिल्ला हुम्ला (सदरमुकाम सिमिकोट) राष्ट्रिय सडक संजालमा जोडिने भएको छ । नेपाली सेनाले हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित चुवाखोलमा ५१.८ मिटर लामो बेलीब्रिज निर्माण गरेसँगै अब बाह्रै महिना सवारी साधन चल्ने भएका हुन् ।

नेपाली सेनाले २०८१ वैशाखमा कर्णाली करिडोर अन्तर्गत हुम्लाको लालीबगर-दुल्लीकुना खण्डको ११ किलोमिटर ट्रयाकको ब्रेक थ्रु गर्दै सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडेको थियो ।

तर, चुवाखोलामा पुल नहुँदा सवारी साधन हिउँदमा मात्रै सिमिकोट पुग्ने गर्थे । हिउँदमा पानीको सतह घट्दा खोलैबाट गाडी तर्ने भए पनि वर्षालाग्ने बित्तिकै सवारी वारी नै रोकिनुपर्ने बाध्यता थियो । तर, चुवाखोलामा पुल निर्माण भएसँगै अब बाह्रै महिना गाडी गुड्ने भएका छन् ।

हुम्लाबासीको वर्षौंदेखिको सपना साकार पार्ने काम नेपाली सेनाले गरेको हो । हुम्लालाई बाह्रै महिना राष्ट्रिय संजालमा जोड्न नेपाली सेना गत चैत १२ गतेदेखि दिनरात चुवाखोलामा खटिरहेको छ । नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेत खार्पुनाथस्थित चुवाखोलामा ५१.८० मिटर लामो र ४.२० मिटर चौडाइको बेलिब्रिज निर्माण लगभग सम्पन्न भएको जानकारी दिए ।

‘सेनाले गत चैत १२ गतेदेखि बेलिब्रिज निर्माण थालेको थियो । अहिले लगभग सबै काम सकिएको छ । पुल जडान भइसकेको छ । एप्रोच सडकको ढलान पनि सकिएको छ । निर्माण सम्पन्नको औपचारिक घोषणा हुन मात्र बाँकी छ,’ उनले मेरोअटोसँग भने ।

कर्णाली करिडोर अन्तर्गत खुलालु-सलिसल्ला सडकखण्ड ।

चुवाखोलामा पुल बनेसँगै अब हुम्लाबासी ढुक्कले बाह्रै महिना सवारी साधन चढ्न पाउने उनले बताए । उक्त पुल अब चाँडै हस्तान्तरण गरिने उनको भनाइ छ ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले सडक विभागले उपलब्ध गराएको बेलिब्रिज सेनाले जडान गरिसकेको बताए । उक्त पुलको ढुवानी, फाउन्डेसन र एप्रोच सडक निर्माण गर्न मात्रै २ करोड ५३ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

‘यसअघि पुल नहुँदा हुम्लामा बाह्रैमहिना गाडी पुग्ने अवस्था थिएन् । अब त्यो अवस्था अन्त्य भएको छ । सडक विभागले उपलब्ध गराएको सिंगल लेनको बेलीब्रिज सेनाले चुवाखोलामा जडान गरिसकेको छ,’ उनले मेरोअटोसँग भने ‘पुल विभागले दिएको हो । ढुवानी, फाउन्डेसन, एप्रोच सडक निर्माण गर्न मात्रै साढे २ करोड खर्च भएको छ ।’

लगभग निर्माण सम्पन्न भएको उक्त पुल चाँडै उद्घाटन गरिने बताए । यद्यपि, उद्घाटनको मिति भने टुंगो नलागेको उनले बताए । ‘पुल लगभग निर्माण सम्पन्न भइसकेको छ । अब चाँडै मिति टुंगो लगाएर उद्घाटन गर्छौं,’ उनले भने ।

नेपाली सेनाले सहजै सिमिकोट पुग्न हाल विभिन्न ठाउँका भीर र कडा चट्टानी पहाड फोरेर सडक फराकिलो बनाइरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले हाल कुल २२.०५ किमी सडक निर्माणको जिम्मा पाएको छ । सोमध्ये हालसम्म साढे १५ किमी ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ ।

सेनाले हाल कालीकोट-बाजुरा जोड्ने घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोलाको ११.५ किमी सडकको नयाँ ट्रयाक खोल्ने काम पनि गरिरहेको छ । जसमध्ये हालसम्म साढे ५ किमी ट्रयाक खोलिसकिएको छ भने अब ६ किमी मात्र बाँकी छ । यसखण्डमा यसअघि नै सडक बनिसके पनि सेनाले दुरी छोट्याउन एलाइमेन्ट परिवर्तन गरी नयाँ ट्रयाक खोलिरहेको हो ।

५० किमी कालोपत्र गरिँदै

कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि चिनियाँ नाका हिल्सासम्म २६९ किमीलाई दुई खण्डमा विभाजन गरी सडक निर्माण भइरहेको छ । दक्षिण खण्ड (खुलालु-सलीसल्ला) १२३ किमी र उत्तर खण्ड (सिमिकोट-हिल्सा १४६ किमी) रहेको छ ।

सोमध्ये दक्षिण खण्डको ५० किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्र गर्न ठेक्का लागेको छ । कर्णाली कोरिडोर दक्षिण खण्ड (खुलालु-सल्लीसल्ला) सडक योजना प्रमुख तुलाराम शर्माले ५० किमी सडक कालोपत्र गर्न दुई खण्डमा ठेक्का लगाइएको बताए ।

उनका अनुसार पिलुचौर-कुवाडी (२३.७ किमी)खण्डको ठेक्का ठेक्का एम/एस पीएस कन्स्ट्रक्सनले ९७ करोड ७८ लाख रुपैयाँमा पाएको छ । त्यस्तै, कुवाडी-तुम्चा (२७.३ किमी) खण्डको ठेक्का एम/एस कोन्टेक/सिंह जेभीले १ अर्ब ४ करोड ९९ लाख रुपैयाँमा पाएको छ ।

‘पिलुचौर-कुवाडी खण्डको ठेक्का सम्झौता समेत भइसकेको छ । कुवाडी-तुम्चा खण्डको कम्पनी छनोट भइसकेको छ । १५ दिनभित्र सम्झौता भइसक्छ,’ उनले भने ।

साथै, यसखण्डको ३० किमी सडक ग्राभेल र १ किमी ढलान भइसकेको जानकारी दिए । साथै, कल्भर्ट निर्माण, साँघुरा ठाउँमा फराकिलो बनाउने काम भइरहेको उनको भनाइ छ । युअघि नै यसखण्डमा ९ वटा पक्की पुल निर्माणको ठेक्का लागिसकेको छ । आगामी आवमा यस खण्डका लागि ७९ करोड ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै, करिडोरको उत्तर खण्ड (सलीसल्ला-सिमिकोट-हिल्सा) १४६ किमी सडकको पनि ट्रयाक खोल्ने काम लगभग सकिएको छ । कर्णाली कोरिडोर उत्तर खण्ड (हिल्सा-सिमिकोट) सडक योजना निमित्त प्रमुख ई. बेलबहादुर नेपालीका अनुसार सिमिकोट बजार क्षेत्रमा करिब ८०० मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । उक्त क्षेत्रमा जग्गा विवादका कारण स्थानीले अवरोध गरेका छन् । यद्यपि, वैकल्पिक सडक मार्फत हिल्सासम्मै यातायात संचालन भइरहेको उनले बताए ।

योजना प्रमुख नेपालीका अनुसार उत्तर खण्ड अन्तर्गत हिल्सा-यारी, एलबम, धारापरी क्षेत्रको २५ किमी सडक ग्राभेल भइरहेको छ । यसखण्डमा हालसम्म कालोपत्रको योजना भने अघि बढेको छैन् । सलीसल्ला-हिल्सा खण्डमा २ वटा पक्की पुल बनिसकेको छ भने ३ वटा निर्माणाधीन अवस्थामा रहको उनले बताए । साथै, अफ्ठेरो ठाउँमा सेनाले सडक फराकिलो बनाउने काम पनि गरिरहेको छ । यसखण्डलाई आगामी आवमा ४५ करोड ४१ लाख बजेट विनियोजन गरिएको छ ।

कर्णाली करिडोर पनि नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतीय सीमा बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्ला हुम्ला हुँदै चीनको सिमान हिल्लसासम्म पुग्ने यो सडक ६२१ किमी लामो छ ।


Back_to_top