काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो चर्चित र सफल ह्याचब्याक कार एमजी-फोरमा व्यापक परिमार्जन गरेको छ । युरोपमा सर्वाधिक सफल स्पोर्टी ह्याचब्याकमा सेमी-सोलिड स्टेट ब्याट्री रहेको चिनियाँ मिडियाहरूले उल्लेख गरेका छन् ।
एसएआइसी ग्रुपको स्वामित्वमा रहेको एमजीले नयाँ एमजी-फोरको साइज पनि ठूलो बनाएको छ । नयाँ मोडलको लम्बाइ ४३९५ एमएम, चौडाइ १८४२ एमएम र उचाइ १५५१ एमएम दिएको छ । यसमा २७५० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
चिनियाँ बजारमा सार्वजनिक भएको एमजी-फोरमा १२० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा प्रयोग भएको ब्याट्री ‘रेप्ट ब्याट्री इनर्जी’बाट लिएको हो । ब्याट्री साइजको विषयमा भने केही कुरा खुलाइएको छैन । यसको टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।
नयाँ एमजी-फोर सार्वजनिक गर्दै एमजी ब्राण्डका निर्देशक चेन क्वीले सेग्मेन्टमै पहिलो सेमी-सोलिड स्टेट ब्याट्री भएको एमजी-फोर पहिलोको भन्दा अब्बल टेक्नोलोजी, धेरै इनर्जी डेन्सीटी, थप सुरक्षित र टिकाउ रहेको दाबी गरे ।

एमजीले यसमा ओप्पोसँग मिलेर बनाएको नयाँ ककपिट प्रयोगमा ल्याएको छ । त्यसैले यसले इनकार इन्टरफेस सपोर्ट गर्नेछ । भ्वाइस कमाण्ड र जेक्सचरमा आधारित नेभिगेसन पाउन सकिनेछ ।
कम्पनीले एमजी-फोरको डिजाइनमा पनि व्यापक परिमार्जन गरेको छ । यसको फ्रन्ट ग्रिलमा व्यापक परिमार्जन देख्न सकिन्छ । एरो स्टाइल टेललाइट, पछाडि वारपार फैलिएको एलईडी लाइटबार, परम्परागत डोर ह्याण्डल, १७ इन्चको अलोय ह्वील दिइएको छ ।
एसएआईसी ग्रुपको नेबुला प्लेटफर्ममा बनेको नयाँ एमजी-फोर नेपाली बजारमा पनि छिट्टै आउने मोडलमा पर्छ । युरोप, त्यसमा पनि बेलायतबाट यसको बिक्री सुरू हुने भएको कारण नेपालमा पनि चाँडै आउने गरेको विगत छ ।

