टियागो ईभी सफल हुनुको ३ कारण, के छन् कमजोरी ?

काठमाडौं । नेपाली बजारमा सानो ईभीको बजारलाई उथलपुथल बनाउने काम टियागो ईभीले गरेको हो । उसोत नेक्सनले पनि एसयूभी सेग्मेन्तमा ठूलै तरङ्ग पैदा गरेको थियो ।

टियागो ईभी सन् २०२३ को सेप्टेम्बर महिनामा नेपाल आएको हो । नेपाल आएको दुई वर्षभन्दा कम समयमै टियागो ईभीले निकै राम्रो संख्यामा बिक्री पाएको देखिन्छ ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अहिलेसम्म २ हजार २२१ युनिट टियागो ईभी बजारमा बिक्री गरिसकेको छ । कम्पनीले बिक्री गरेका सम्पूर्ण ईभीले राम्रोसँग सर्भिस लगायतका सुविधा पाइरहेको उपभोक्ताहरूको भनाइ छ ।

कुनै पनि उत्पादन सर्वगुण सम्पन्न हुँदैनन् । त्यसमा पनि ३० लाखभन्दा कम मूल्यका कारमा धेरै कुरा खोज्न सकिँदैन । त्यसैले वार्षिक १ हजार १०० युनिटभन्दा बढीको दरले बिक्री भएको टियागो ईभीका बलिया र कमजोर पक्षका विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

पर्फेक्ट ह्याचब्याक : टियागो सानो परिवारको लागि उत्कृष्ट कार हो । यसको डिजाइन परम्परागत कारकै जस्तो छ । निकै आकर्षक फ्रन्ट र रियर डिजाइन भएको टियागो ह्याण्डलिङ गर्न पनि निकै सहज छ । सहरी क्षेत्रमा यात्रा गर्न सातामा दुई पटक चार्ज गर्दा एथेष्ट हुन्छ । त्यसैले झन्झटरहित यात्राको लागि यो उत्कृष्ट ह्याचब्याक हुनसक्छ ।

भ्यालू फर मनी : नेपाली बजारमा उपलब्ध फ्यामेली कारको रूपमा टियागो ईभीलाई लिन सकिन्छ । पेट्रोल कारको रूपमा नै चर्चा पाएको टियागोको इलेक्ट्रीक भर्सन एउटा पर्फेक्ट ह्याचब्याक हो । खराब बाटोमा पनि सहजै चलाउन सकिने, निकै स्कुद स्टेरिङ ह्वील र उत्कृष्ट टर्निङ रेडियस भएको ह्याचब्याक भ्यालू फर मनी मोडल हो ।

नेपाली बजारमा यसको सुरुवाति भेरियन्ट एलआर एक्सटीको मूल्य २७ लाख ४९ हजार रुपैयाँ र टप भेरियन्ट एलआर जेडएक्स प्लस टेकको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ ।

फिचर लोडेड क्याबिन : टियागो ईभीको क्याबिन निकै फिचर लोडेड छ । ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ । यसका अलावा क्रुज कन्ट्रोल, एलईडी डीआरएल, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर, इलेक्ट्रीक टेलगेट, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर छन् ।

अझ राम्रो भइदिएको भए हुन्थ्यो

प्योर ईभी : अहिले थुप्रै साना ह्याचब्याक कार पनि प्योर ईभी प्लेटफर्ममा तयार भएका छन् । यस्तोमा टियागो ईभी रेट्रो फिटेड ईभी हो । टाटा मोटर्सले यसलाई पेट्रोल र ईभी दुवैमा उपलब्ध गराएको छ । त्यसैले प्योर ईभी प्लेटफर्ममा आइदिएको भए झनै राम्रो हुन्थ्यो ।

बुट स्पेश : टाटाले टियागो ईभीमा केबल २४० लिटर बुट स्पेश दिएको छ । दैनिक यात्राको लागि यो बुट स्पेश ठिक्क लाग्छ । तर, परिवारसहित कतै टुरमा जाने योजना बनाउनु भयो भने सामान बोक्न केही कठिनाइ हुन सक्छ ।


Back_to_top