तातोपानीसँग पनि सडक सम्पर्क टुट्यो, दर्जनौं कन्टेनर भन्सारमै रोकिए

फाइल तस्बिर ।

काठमाडौं । पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउपालिका २, कोदारीस्थित इकुमा आज बिहान खसेको पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार इकुमा सडक माथिबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्णरुपमा बन्द भएको छ ।

यससँगै चीनसँगको व्यापारिक नाका तातोपानीसँग सडक सम्पर्क टुटेको छ । सडक बन्द भएपछि तातोपानी भन्सारबाट काठमाडौं आउन लागेका दर्जनौं मालवाहक कन्टेनर उतै रोकिएका छन् । त्यस्तै, एम्बुलेन्स, यात्रुबाहक बस, साना–ठूला सवारी पनि रोकिएका छन् ।

सडक तलबाट पनि भासिएकाले तत्कालै संचालनमा ल्याउन कठिन देखिएको प्रहरीले जनाएको छ ।

बुधबार मात्र केरुङ नाकामा रोकिएका पर्यटकहरुलाई कोदारी नाका हुँदै काठमाडौं पठाइएको थियो ।


Back_to_top