काठमाडौं । नेपाली बजारमा १० लाखभन्दा कम मूल्यको न्यू इनर्जी भेहिकल किन्न पाइने भएको छ । हिमालयन ईभी प्रालिले नेपाल ल्याएको एनयू ब्राण्ड रेन्ज एक्सटेन्डर ईभी ९ लाख ५० हजारमै खरिद गर्न पाइने भएको हो ।
र्यापटर नामबाट आएको सेकेण्ड जेनेरेशन मोडल ४ ढोका भएको ४ सिटर इलेक्ट्रीक मोडल हो । कम्पनीले यति सस्तो गाडीमा ‘इन्ट्रडक्टरी अफर’ भन्दै १० हजारदेखि १ लाखसम्मको क्यास कुपन समेत अफर गरेको छ ।
चीनको साङदोङमा उत्पादन भएको एनयू ब्राण्डको र्यापटर सेकेण्ड जेनेरेशन मिनी कारको लम्बाइ २९०० एमएम, चौडाइ १३८० एमएम र उचाइ १६५० एमएम छ । यसमा २००० एमएमको ह्वीलबेस दिइएको छ ।
कम्पनीका अनुसार यो सानो कारमा १६५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको मोटर साइज निकै सानो छ । यसमा १२.५ किलोवाट क्षमताको मोटर छ, जसले १०० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

जसरी सानो मोटर प्रयोग भएको छ, त्यसैगरी ब्याट्री पनि केबल ६ किलोवाट आवरको छ । र्यापटरमा दिइएको एलएफपी ब्याट्री प्याकबाट १२० किलोमिटरसम्म रेन्ज पाइने कम्पनीको दाबी छ ।
यसमा दिइएको ब्याट्रीलाई चार्ज गर्न गाडीमै जेनेरेटरको व्यवस्था गरिएको छ । जनेरेटरको सहायताले गाडी चार्ज गर्न सकिने छ । पछिल्लो समय चिनियाँ बजारमा चर्चित यो प्रविधिलाई इआरईभी (एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल) भनिन्छ । यसमा ५ लिटरसम्म पेट्रोल हाल्न मिल्छ ।
र्यापटरमा रहेको ६ किलोवाट आवरको ब्याट्रीलाई फुल चार्ज गर्न ५ घण्टासम्म लाग्छ । यस कारमा चारै चक्कामा डिस ब्रेक, इन्डिपेन्डेन्ट सस्पेन्सन, एयर कण्डिसन, सेन्सर सहितको रिभर्स क्यामेरा, साउण्ड सिस्टम, एलसीडी स्क्रीन, डिजिटल इन्ट्रुमेन्टल क्लस्टर, ‘टु वे ब्रेक लक सिस्टम’, रोटरी गियर सेलेक्टर दिइएको छ । साथै, सिलिङमा माउण्ट गरिएको इलेक्ट्रीक भेन्टीलेसन, पछाडिको टेलगेटमा दिइएको स्पेयर ह्वीलले यसलाई पृथक देखाएको छ ।
काठमाडौंको उत्तरढोकामा शोरुम रहेको हिमालयन ईभीले आफ्ना सबै मोडलका ईभीहरूको मोटरमा २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ३० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ ।

