केटीएमको ३९० एन्ड्यूरोको ग्लोबल स्पेक भेरियन्ट सार्वजनिक, नेपाल पनि आउने!

काठमाडौं । केटीएमले भारतमा नयाँ डबल पर्पस मोटरसाइकल ३९० एन्डयूरोको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले केटीएमको ३९० एन्ड्यूरो आरको ग्लोबल स्पेक भेरियन्ट सार्वजनिक गरेको हो ।

अस्ट्रियन ब्राण्ड केटीएमको ३९० एन्ड्यूरो आर मोडल पहिलो पटक मिलानमा भएको ‘इक्मा अटो शो २०२४’मा देखाइएको थियो भने त्यसको झण्डै एक वर्षपछि भारतीय बजारमा यस मोटरसाइकलको सस्तो भेरियन्ट सार्वजनिक गरिएको थियो । अब भने केटीएमले इक्मामा देखाएको यसको ग्लोबल स्पेक भेरियन्ट नै बजारमा ल्याएको हो ।

यो मोटरसाइकल स्टील ट्रेलिस मेन फ्रेम र प्रेसर डाइ कास्ट आल्मुनियम सबफ्रेममा बनाइएको छ । टिपिकल इन्ड्यूरो डबल स्पोर्ट डिजाइन, स्लिम बडीवर्क, सानो आकारको हेडलाइट, उठाइएको फ्रन्ट फेन्डर, लामो फ्ल्याट सिंगल पीस सिट, अग्लो सिंगल पीस ह्यान्डलबार, नकल गार्ड र स्लीम रियर डिजाइन यस मोटरसाइकलमा रहेको छ ।

साथै, नयाँ भेरियन्ट एन्ड्यूरो आरमा २३० एमएम ट्राभल ४३ एमएम डब्लूपी एपेक्सओपन कार्ट्रिज फोर्क र रियरमा मोनोसक सस्पेन्सन सेटअप दिएको छ । यसअघिको इन्डियन स्पेक्स मोडलमा भने २०५ एमएम ट्राभल सस्पेन्सन सेटअप थियो । यसको ग्राउण्ड क्लियरेन्स २७३ एमएम छ, जुन अघिल्लो भेरियन्टको तुलनामा १९ एमएम बढी हो। ब्लक प्याटर्न अफरोड बेस टायर, पिस्टन क्यालिपर डिस्कब्रेक र स्वीचेबल एबीएस सिस्टम पाउन सकिन्छ ।

त्यस्तै, ४.२ इन्चको टीएफटी कन्सोल, टर्न वाई टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, इनकमिङ कल, राइड मोड कन्ट्रोल, एलईडी लाइट सेटअप, चार्जिङ पोर्ट, ट्रयाक्सन कन्ट्रोल, अफरोड स्पेसिफिक राइडिङ मोडहरूसँगै अन्य राइड मोड र लन्च कन्ट्रोल सिस्टम जस्ता विभिन्न खाले अत्याधुनिक फिचरहरू यस मोटरसाइकलमा छन् ।

कम्पनीले केटीएम ३९० इन्ड्यूरो आरको ग्लोबल स्पेक भेरियन्टमा लो इन्ड र मिड रेन्ज पर्फमेन्स ट्युन गरिएको ३९९ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्ट्रोक, लिक्वीड कुल्ड, एलसीफोसी, इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ४५ पीएस पावर तथा ३९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लिपर-असिस्ट क्लच र बाइ डिरेक्सनल क्वीक सिफ्टर पनि उपलब्ध छ ।

भारतीय बजारमा यस मोटरसाइकलको मूल्य ३ लाख ५४ हजार रुपैयाँ (एक्स शोरुम) तोकिएको छ । यो यसको बेस भेरियन्टभन्दा मात्र १५ हजार भारतीय रुपैयाँले धेरै हो ।

नेपाल आउने पक्का

नेपालमा केटीएमको मोटरसाइकल आयातकर्ता हंशराज हुलाशचन्द एण्ड कम्पनीले केही समयअघि नक्सालमा नयाँ शोरुम संचालनमा ल्याएको छ । उक्त शोरुम उद्घाटन कार्यक्रममा कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले भारतमा सार्वजनिक हुने तयारीमा रहेको केटीएम ३९० एन्ड्यूरो आर चाँडै नेपाल आउने जानकारी दिएका थिए ।

कम्पनीले एन्ड्यूरो आर मोटरसाइकल नेपालमा पहिलो पटक हुन गइरहेको नेपाल नाइमा मोबिलिटी एक्स्पो मार्फत सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top