टाटाले अर्को कम मूल्यको ईभी ल्याउने

काठमाडौं । टाटाले अल्ट्रोज ईभी विकास गर्न थालेको धेरै वर्ष भयो । सन् २०१९ को जेनेभा मोटर शोमा कन्सेप्ट देखाएको अल्ट्रोज ईभीलाई सन् २०२० देखाएको थियो ।

अब भने त्यही अल्ट्रोजको इलेक्ट्रीक भर्सन बजारमा ल्याउन तयार रहेको रिपोर्टहरू बाहिर आएका छन् । टाटा मोटर्सले अल्ट्रोजलाई एक्कर्ट कोड नेम दिएर विकास गरिरहेको छ । नेक्सन ईभीपछि बजारमा आउने बताइएको अल्ट्रोजको इलेक्ट्रीक भर्सन ढिला गरी आउन लागेको हो ।

कम्पनीले पन्च ईभीकै मोटर र ब्याट्री प्याकमा अल्ट्रोज ईभी ल्याउने भएको छ । अल्ट्रोज ईभी पन्च ईभी जस्तै एक्ट ईभी आर्किटेक्चरमा बन्ने छ । यसले गाडीको ग्राउण्ड क्लियरेन्स उत्कृष्ट रहने बताइएको छ ।

अल्ट्रोज ईभीमा २५ किलोवाट अवार र ३५ किलोवाट अवारको ब्याट्री प्याक रहने छ । साथै, पन्च कै जस्तो दुई मोटर अप्सन पाउन सकिनेछ ।

यसै वर्षको जनवरीमा टाटा मोटर्सका म्यानेजिङ डाइरेक्टर शैलेश चन्द्राले यसैवर्ष भित्र ह्यारियर ईभी, सिरिया ईभीपछि अल्ट्रोज ईभी लन्च हुने जानकारी दिएका थिए ।


Back_to_top