काठमाडौं । आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीले यात्रुको ब्यागेजमा राखिएको सामानमा कुनै हानी नोक्सानी भएमा अधिकतम ५ हजार अमेरिकी डलर (करिब ६ लाख ८० हजार रुपैयाँ) दायित्व व्यहोर्नुपर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
यात्रु तथा सामान वायुयानभित्र रहेको अवस्थामा वा वायुयान भित्र प्रवेश गर्न वा स्थानान्तरण गर्दा वा बायुयानबाट बाहिर निस्कदा वा स्थानान्तरण गर्दा वायुसेवाको लापारवाहीकोे कारण भएको प्रत्यक्ष हानी नोक्सानीको लागि मात्र वायुसेवा जिम्मेवार हुनेछ । वायुसेवाले जिम्मा लिएको ब्यागेज हराएमा, नष्ट भएमा वा हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति एयरलाइन्सले नै तिर्नुपर्नेछ ।
मस्यौदामा जाँच गरिएका सामानमा कुनै हानी, नोक्सानी भएमा प्रतिकिलोग्राम २० अमेरिकी डलरको दरले कुल अमेरिकी डलर ५ हजारको सीमा ननाघ्ने गरी सो बराबरको नेपाली रुपैयाँमा वायुसेवाले दायित्व व्यहोर्नुपर्ने उल्लेख गरिएकाे छ ।
त्यस्तै, यात्रुले वायुयान भित्र आफूसँगै लगेको वा राखेको तर जाँच नगरिएको सामानमा कुनै हानी नोक्सानी भएमा अधिकतम अमेकिरी डलर ४०० बराबर हुने नेपाली रुपैयाँ दायित्व व्यहोर्नुपर्नेछ ।

