काठमाडौं । यही असार २४ गते बिहान आएको बाढीले क्षतिग्रस्त स्याफ्रुबेँसी-रसुवागढी सडक मर्मत सुरू गरिएको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक आयोजनाले बिहीबारदेखि क्षतिग्रस्त सडक मर्मत थालेको हो ।
आयोजना प्रमुख (सीडीई) खड्गलाल श्रेष्ठले बाढीपहिरोले बिगारेको स्याफ्रुबेँसी-रसुवागढी सडक मर्मत सुरू गरिएको बताए । जतिसक्दो चाँडो सवारी संचालनमा ल्याउने गरी मर्मतको काम थालिएको उनले बताए ।
उनका अनुसार स्याफ्रुबेँसी-रसुवागढीसम्म १३/१४ ठाउँमा गरी करिब १२०० मिटर सडक क्षतिग्रस्त बनेको छ । रसुवागढी, टिमुरे, लिङलिङ लगायत क्षेत्रमा धेरै क्षति पुगेको उनले बताए ।
‘बाढीले करिब ११०० देखि १२०० मिटर सडक क्षतिग्रस्त बनाएको छ । १३/१४ ठाउँमा सडक कटान भएको छ,’ उनले मेरोअटोसँग भने, ‘जतिसक्दो चाँडो सडक खुलाउने गरी हिजैदेखि सडक मर्मत थालिएको छ । फिल्डमा २ वटा एस्काभेटर, ब्रेकर र जनशक्ति परिचालन गरिएको छ । शुक्रबार दिउँसो १२ बजेसम्म स्याफ्रुबेँसीबाट ३ किलोमिटर अगाडिसम्म सडक खुलाइसकिएको छ ।’
उनका अनुसार खोलाले पूरै कटान गरेको केही ठाउँमा भने सडक सुचारु गर्न समस्या देखिएको छ । पानीको सतह धेरै भएकाले तलबाट पर्खाल उचल्न पनि नमिल्ने र भित्तोपट्टी पनि कडा चट्टान रहेको उनले बताए ।

‘कटान भएको अधिकांश ठाउँमा भित्तो कटान गरेर नयाँ सडक बनाउनुपर्ने अवस्था छ । केही ठाउँमा भित्तो कटान गर्न पनि कठिन र नदीबाट वाल उठाउन पनि कठिन देखिएको छ,’ उनले भने, ‘तर, जसरी भए पनि सडक खुलाइन्छ ।’
कति दिन भित्र सडक सुचारु गर्न सकिन्छ भन्ने एकिन नभए पनि अबको १०/१५ दिनभित्र सडक खुलाइ सक्ने लक्ष्य राखिएको उनले बताए । चाँडो सडक खुलाउन रसुवागढीतर्फबाट पनि एस्काभेटर परिचालन गर्ने तयारी गरिएको उनले बताए । ‘हाम्रो एउटा एस्काभेटर रसुवागढीमै छ । अब तेल लगेर उताबाट पनि सडक सफा गर्ने योजना छ । दुवैतर्फबाट काम सुरू गर्छौं,’ उनले भने ।
बाढीले बगाएको मितेरी पुल निर्माणका लागि सरकारले चीनसँग समन्वयन गर्ने उनले बताए । गत मंगलबार बसेको विपद् प्राधिकरणको बैठकले केरुङ नाका संचालन र चीन-नेपाल सीमामा पुल निर्माणका लागि चीन सरकारलाई आग्रग गर्ने निर्णय गरेका थियो ।
तत्काललाई बेलिब्रिज जडान गरेर नाका संचालनमा ल्याउन सकिने योजना प्रमुख श्रेष्ठले बताए । उनका अनुसार बेलिब्रिज जडान गर्न १५ दिनदेखि १ महिनासम्मको अवधि लाग्छ ।
‘तत्कालै पक्की पुल निर्माण सम्भव हुँदैन । विकल्प भनेको बेलिब्रिज नै हो । सरकारले चीनलाई पनि आग्रह गर्ने भनेको छ । चिनियाँ पक्षले भन्छन्,’ उनले भने, ‘सरकारले आफ्नै तर्फबाट पनि तत्काललाई बेलिब्रिज जडान गर्न सक्छ । पुलको लम्बाइ अनुसार जडान गर्न १५ दिनदेखि १ महिनासम्म लाग्न सक्छ ।’ चाडवाड नजिएकाले जतिसक्दो चाँडो नाका संचालन गर्नुपर्ने उनको भनाइ छ ।

