धुलिखेल-खावा सडकको नयाँ ठेक्का लगाउने बाटो खुल्यो, ठेकेदारले हालेको मुद्दा खारेज

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकको नयाँ ठेक्का लगाउने बाटो पूर्ण रुपमा खुलेको छ । उच्च अदालत पाटनले निमार्ण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिले हालेको उत्प्रेषण मुद्दा खारेज गरेसँगै नयाँ ठेक्का लगाउने बाटो खुलेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्का र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले डिभिजन सडक कार्यालय भक्तपुरविरुद्ध हालेको उत्प्रेषण मुद्दा खारेज गर्ने फैसला गरेको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख योगेश सुमनले अदालतले ठेकेदारले हालेको मुद्दा खारेज गरेसँगै नयाँ ठेक्का लगाउने, ठेकेदारलाई कालोसूचीमा राख्ने, धरौटी जफत गर्ने बाटो खुलेको बताए ।

‘ठेक्का सम्झौता तोडेसँगै नयाँ ठेक्का लगाउने बाटो खुलेको थियो । हामीले सो खण्डमा काम पनि गरिरहेका छौं । तर, ठेकेदार अदालत गएकाले कालोसूचीमा राख्ने, धरोटी जफत गर्ने प्रक्रिया अघि बढाउन पाइएको थिएन,’ उनले मेरोअटोसँग भने, ‘अदालतले मुद्दा खारेज गरेसँगै अब सबै प्रक्रिया अघि बढ्छ ।’

अब कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय र धरौटी जफतका लागि बैंकहरूलाई पत्रचार गरिने उनले बताए ।

पटक पटक म्याद थप्दा पनि ठेकेदारले काम नगरेपछि सडक डिभिजन भक्तपुरले गत २०८१ फागुन १५ गते ठेक्का सम्झौता तोडेको थियो ।

डिभिजनले ठेक्का तोडेपछि निर्माण कम्पनी गौरी पार्वतीले फागुन १९ गते उच्च अदालत पाटनमा उत्प्रेषण मुद्दा दायर गरेको थियो । ठेकेदारले परर्फमेन्स बण्ड  (पीबी) र एड्भान्स पेमेन्ट ग्यारेन्टी ( एपीजी) तान्नका लागि बैंकहरूलाई पत्राचार गर्ने, कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने निर्णयको बिरुद्धमा मुद्दा दायर गरेको थियो ।

डिभिजन सडक भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते २२ महिना (२०८० चैत १९ गते)भित्र सडक निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । धुलिखेल–खावा सडकको ठेक्का पाएको निर्माण कम्पनीको २०८० चैत १९ बाट म्याद सकेर हर्जना तिराएर काम लगाएको तथा पटक/पटक स्पष्टीकरण सोध्दा समेत चित्त बुझ्दो जवाफ नआएपछि डिभिजनले ठेक्का अन्त्य गरेको थियो । धुलिखेल–खावा सडक स्तरोन्नतीका लागि निर्माण कम्पनीसँग भ्याटसहित २० करोड १९ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।

गौरी पार्वतीले धुलिखेलदेखि पकुचासम्मको २ किलोमिटर सडकको कटिङ, नाली बनाउने, सब बेस, बेस गर्ने काम सकेर कालोपत्रे गर्ने अवस्थामा र्पुयाए पनि गत असोज महिनाको बाढीपहिरोका कारण क्षति पुर्याएको थियो । बाँकी खण्डमा भने कुनै काम सुरु गरेका थिएन ।

धुलिखेल खावा सडकको बाँकी काम सक्न डिभिजनले नयाँ ठेक्का प्रक्रिया अघि बढाएको छ । डिभिजनले यस सडकको काम सम्पन्न गर्न करिब ४२ करोड खर्च हुने स्टिमेट तयार गरेको छ । यस खण्डको नयाँ ठेक्का यही असार भित्रै आह्वान गरिने डिभिजन प्रमुख सुमनले बताए ।


Back_to_top