साउन २१ गतेबाट थपिँदै दुई ब्राण्डका विद्युतीय कार

काठमाडौं । साउन २१ गतेबाट आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी अटो एक्स्पो २०२५ बाट दुई नयाँ ब्राण्डले बजारमा डेब्यू गर्दैछन् । नेपाल आउन लागेका दुवै ब्राण्ड चिनियाँ हुन् ।

अघिल्लो वर्ष करिब एक दर्जन ब्राण्डले बजारमा डेब्यु गरेका थिए । तर, यस वर्ष निकै कम ब्राण्ड बजारमा प्रवेश गर्दैछन् । नाइमा मोबिलिटी एक्स्पोमा आइएम मोटर्स र डोङफेङ फरथिङ ब्राण्डका उत्पादन बजारमा आउन लागेका हुन् ।

यी दुवै ब्राण्डले बजारमा ल्याउन लागेका गाडी एसयूभी सेग्मेन्टका हुन् । अहिले नै बजारमा यी दुई ब्राण्डका गाडी आइसकेका छन् । अटो एक्सपोबाट बजार प्रवेश गर्ने दुवै मोडलले कस्तो बजार पाउँछन् । एकिन साथ भन्न सकिने अवस्था छैन ।

एसएआईसी मोटर्स अन्तर्गतको आइएम मोटर्सको आइएम-सिक्स एसयूभी फ्यूचरस्टिक डिजाइन, आधुनिक टेक फिचर र लग्जरीको कारण चर्चामा रहेको मोडल हो । अहिले नै १० युनिट आइएम-सिक्स बजारमा गुडिरहेको भेटिन्छ ।

आइएम मोटर्सका उत्पादन पारामाउन्ट मोटर्सले नेपाल ल्याएको हो । एमजीकै शोरुम मार्फत बिक्री वितरण हुने आइएम–सिक्सको मूल्य लगायतका विषयमा कुनै जानकारी बाहिर आएको छैन ।

लक्ष्मी इमोबिलिटीले बिक्री सुरू गर्न लागेको डोङफेङ फरथिङ ब्राण्डको फ्राइडे नामक मोडल नेपालमा बिक्री सुरू हुँदैछ । कम्पनीले यसलाई निकै प्रतिस्पर्धी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा बिक्री सुरू गर्न लागेको हो ।

नयाँ ब्राण्डमा आउने एसयूभीहरू मूल्यका हिसाबले ६० लाखदेखि ८० लाख रुपैयाँसम्मका हुने अनुमान गरिएको छ । ४०० किलोमिटर माथि रेन्जको साथ आउने एसयूभीहरू प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेका छन् ।

अटोमोबाइल व्यवसायमा रहेका दुई पुराना व्यवसायिक घरानाले ल्याउन लागेका यी दुई ब्राण्डले बजारमा कस्तो प्रभाव पार्ला, त्यो थाहा पाउन भने अझै केही महिना कुर्नुपर्ने हुन्छ ।


Back_to_top