काठमाडौं । चीनले नेपाल-चीन सिमाना रसुवागढी स्थित ल्हेन्दे खोलामा अस्थायी पुल बनाइदिने प्रतिबद्धता जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
मन्त्रालयमा भएको भेटमा राजदूत चेनसँग बाढीबाट क्षतिग्रस्त सडक र सीमा पुल निर्माण लगायतको विषयमा छलफल भएको थियाे ।
नेपाली पक्षले बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माणमा सहयोग गरिदिन आग्रह गरेको थियो । राजदूत चेनले जतिसक्दो चाँडो अस्थायी पुल बनाउन सहयोग गर्ने बताएको जनाइएको छ ।
गत असार २४ गते आएको बाढीका कारण चीन-नेपाल जोड्ने मितेरी पुल बगाएको थियो । साथैं, रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म सडकमा क्षति पुर्याएको थियो । हाल सडक मर्मत नेपालले गरिरहेको भए पनि पुल निर्माणको कुनै काम अघि बढेको छैन ।

