ललितपुर । कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि रहेक एक–एक किलोमिटरमा आकाशे पुल निर्माणको काम सुरु भएको छ ।
चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ ।
सो सडकमा कुन–कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको विभागका वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए ।
आकाशेपुल निर्माणको काम अहिले भइरहेको छ भने जेब्राक्रसिङ निर्माण, डिभाइडर राख्नेलगायत काम चाँडै सुरु हुने उनले जानकारी दिए ।
‘सडक सुरक्षाका लागि आवश्यक कुराहरु थपेर यो सडक सुरक्षित बनाउन लागिएको हो । सहरी सडकमा कम दूरीमा नै ‘जेब्राक्रसिङ’ चाहिने भएकाले यो सडकखण्डमा पनि ठाउँठाउँमा ‘जेब्राक्रसिङ’ निर्माण गर्ने योजना छ । यात्रुलाई बाटो काट्न सजिलो होस् भनेर नै एक–एक किलोमिटरको दूरीमा पर्ने गरेर आकाशेपुलको निर्माण भइरहेको छ’ श्रेष्ठले भने ।
विभिन्न स्थानमा सडकमा रङ लगाउनेलगायत काम गरिने बताइएको छ । चीनमा सडक चिह्नले मात्रै डिभाइडरको काम गर्ने भए पनि नेपालमा त्यसले मात्रै लेन अनुशासन कायम नहुने हुँदा समस्या भएको महाशाखाका प्रमुख श्रेष्ठले बताए ।
चक्रपथकै दोस्रो खण्डका रुपमा कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम भइरहेको पनि उनले जानकारी दिए ।

