काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ वटा पुराना गाडी लिलाम बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले आफ्नो स्वामित्वमा रहेका किया, हुन्डाई र सेभ्रोलेट ब्रान्डका १२ थान गाडी लिलाम बिक्री गर्ने भएको हो । उक्त लिलामीमा सबैभन्दा कम मूल्य ४ लाख ७ हजार रुपैयाँको सेभ्रोले स्पार्क रहेको छ ।
लिलाम बिक्रीको लागि सुचना प्रकाशित गर्दै बैंकले २००१ देखि २०१९ सम्म बनेका गाडीहरु बिक्री गर्न लागेको जनाएको छ । २००१ मा बनेको किया जिपको न्यूनतम लिलामी मूल्य ४ लाख २४ हजार रुपैयाँ राखिएको छ भने, २००६ मा बनेको हुन्डाई गेजको न्यूनतम मूल्य ५ लाख ७८ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले नौ वटा सेभ्रोले स्पार्क लिलाम बिक्री गर्ने भएको छ । जसमा उत्पादन मिति २००८ र ०९ भएका गाडीहरु छन् । जसको न्यूनतम मूल्य ४ लाख ७४ हजारदेखि ६ लाख १२ हजार रुपैयाँसम्म रहेको छ ।

सिलबन्दी बोलपत्रमा सहभागी हुन चाहने व्यक्ती वा संस्थाले २०७५ चैत १२ गतेसम्ममा सिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन् । उक्त बोलपत्र चैत १२ गते १२ः३० बजे राष्ट्र बैंकको सामान्य सेवा विभागमा खोलिने छ ।
उक्त गाडी खरिद गर्न चाहनेले आफुले कबोल गरेको रकमको ५ प्रतिशतले हुन आउने रकम बैंक दाखिला गरेको हुनु पर्नेछ ।
बोलपत्र फारम राष्ट्र बैंकको सामान्य सेवा विभागबाट दुई हजार रुपैयाँ तिरेर खरिद गर्नु पर्नेछ ।

