काठमाडौं । अहिले चीनका गल्ली गल्लीमा बन्ने कमसलदेखि बहुर्राष्ट्रिय कम्पनी बनिसकेका ब्राण्डका कार नेपालमा छन् । यसका बाबजुद चीनमा निकै ठूलो नाम बनाउन सफल ५ कार ब्राण्ड अझै नेपाल आउन सकेका छैनन् ।
विद्युतीय कारको विकास र विस्तारसँगै चीनबाट एकपछि अर्को नयाँ ब्राण्ड नेपाल आए । अहिलेसम्म बजारमा दुई दर्जन बढी चिनियाँ कार ब्राण्ड छन् । यति धेरै कार ब्राण्ड चीनबाट आयात हुँदा पनि केही विश्वभर चर्चा हुने ब्राण्डका उत्पादन नेपाल आएका छैनन् ।
चीनमा पुराना अटोमोबाइल कम्पनीहरुसँगै स्टार्टअप कम्पनीको पनि बाढी नै छ । पुराना कम्पनीले आधा दर्जनसम्म सहायक ब्राण्ड बनाएका छन् । ती सहायक ब्राण्डका कारपनि एकपछि अर्को नेपाल आइरकेका छन् ।
यस्तोमा १०० औं कार ब्राण्ड भएको देशमा रहेका चर्चित ५ कार ब्राण्ड अहिलेसम्म नेपाल आएका छैनन् । यसरी नेपाल आउन नसकेका कार ब्राण्डका विषयमा यहाँ हामीले चर्चा गरेका छौं ।
साओमी अटो

युरोप, अमेरिका होस् वा एशियाली कार बजार साओमीको चर्चा नभएको ठाँउ कमै भेटिन्छ । साओमी चर्चित कन्जुमर इलेक्ट्रोनिक्स ब्राण्डले सुरु गरेको सबैभन्दा कान्छो कार स्टार्टअप हो ।
साओमीले अघिल्लो वर्ष एक मोडल एसयू–सेभन बजारमा ल्याएको थियो । केही महिना अगाडि बजारमा ल्याएको वाईयू–सेभेनले विश्वकै ध्यान खिच्न सफल भएको छ ।
विश्वभर यति धेरै चर्चा भएको साओमी अटोका उत्पादन नेपाल आएको छैन । खासगरी राइट ह्याण्ड ड्राइभ मोडल नभएकै कारण साओमी अटो नेपाल नआएको हो । सम्भवत सन् २०२६ को अन्तिमसम्ममा यसले नेपाली बजारमा प्रबेश गर्नेछ ।
नियो अटो

चीनमा स्वापिङ सेन्टरहरु निर्माण गरेर विद्युतीय कार चालकको रेन्ज एन्जाइटी र चार्जिङको अवधि घटाउन सफल ब्राण्डको रुपमा नियोको चर्चा हुन्छ । नियोको स्वापिङ सेन्टर मोडल अहिले विश्वका धेरै देशमा अनुसरण सुरु भएका छन् । नेपालमा पनि इलेक्ट्रीक दुई पाङ्ग्रे गोगोरोले स्वापिङ सेन्टर बनाएको छ ।
चिनियाँ स्टार्टअप कम्पनीले चीनमा ३ हजार बढि स्थान र युरोपको ५० स्थानमा ब्याट्री स्वापिङ स्टेशन बनाइसकेको छ । नेपालमा पनि विशाल ग्रुप अन्तर्गतको कम्पनीले यसको आधिकारीक बिक्रेता लिएको छ । राइट ह्याण्ड ड्राइभमा गाडी उपलब्ध नभएको कारण सन् २०२६ मा मात्रै नियोका कार नेपाल आउने अनुमान छ ।
ली अटो

ली जियाङले सन् २०१५ मा स्थापना गरेको न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी निकै चर्चित ब्राण्डमा पर्छ । यसलाई लीले सुरुमै पब्लिक कम्पनीको रुपमा ल्याएका हुन् ।
सन् २०१९ मा पहिलो मोडल ली वान लन्च गरेको कम्पनी सन् २०२० देखि न्यूयोर्क स्टक एक्सचेन्जमा समेत सूचीकृत भएको छ । ली अटोले २०२१ मा बेइजिङमा रहेको हुन्डाईको प्लान्ट खरिद गरेर उत्पादन क्षमता विस्तार गरेको थियो ।
विशेषत एसयूभी उत्पादनमा केन्द्रित ली अटोले पनि अहिलेसम्म राइड ह्याण्ड ड्राइभ मोडल बनाएको छैन । बिक्रीका हिसावले निकै सफल चिनियाँ ब्राण्ड कहिले नेपाल आउँछ, एकिन साथ भन्न सकिने अवस्था छैन ।
आइतो

चीनको टेक्नोलोजी जायन्ट मानिने हुवावे र सेरेस ग्रुप मिलेर स्थापना गरेको आइतो ब्राण्ड चीनको अर्को उदममान अटोमोवाइल कम्पनी हो । आइतोका गाडीमा हुवावेको हार्मोनी ओएस ककपीट प्रयोग भएको छ ।
यसमा स्मार्ट इन्ट्रुमेन्ट क्लस्टर र अगुमेन्टेड रियालिटी हेडअप डिस्प्ले प्रयोग भएदेखि नै आइतोका कार चर्चामा छन् । खासगरी टेक्नोलोजीको प्रयोगमा आइतोका कार निकै अगाडि छन् । नेपालमा सेरेस ब्राण्ड एमएडब्लू वृद्धि मोटर्सले बिक्री गर्दै आएको भएपनि आइतो ब्राण्डमा उत्पादन भएका मोडल आउन सकेको छैन ।
आइतोका एसयूभीहरुमा १२८ वटा लाइडार, ११ एचडी क्यामरा, ३ मिलिमिटरको राडार, १२ वटा अल्ट्रा सोनिक राडार सहितको हुवावेको लेवल २ प्लस अटोनोमस ड्राइभिङ सिस्टम पाउन सकिन्छ । खासगरी आइतोका एसयूभी पनि राइट ह्याण्डमा अहिलेसम्म आएका छैनन् ।
हङकी

एफएडब्लु ग्रुपको स्वामित्वमा रहेको चीनको हङकी सन् १९५८ मा स्थापना भएको सबैभन्दा पुरानो अटोमोवाइल ब्राण्ड हो । चीनको रोल्स रोयल्स भनेर चिनिने हङकी ब्राण्डका कारहरु चिनियाँ राष्ट्रपतिदेखि ठूलो नेता र कम्पनीका अध्यक्षहरुले चढ्ने गर्छन् ।
सन् १९८१ मा उत्पादन बन्द भएको हङकी ब्राण्डले फेरी १९९५ बाट उत्पादन थालेको थियो । सन् २०२३ बाट न्यू इनर्जी भेहिकलमा पनि पाहिला राखेको कम्पनीले सन् २०१८ बाटै विश्व बजारमा हङकीका उत्पादन निर्यात थालेको हो ।

