हाइवे अपडेट : बाढीपहिरोले १ दर्जन सडक प्रभावित, ५ पूर्ण रूपमा बन्द

काठमाडौं । बाढी पहिरोका कारण देशभरका १ दर्जन सडकमा यातायात सेवा प्रभावित भएको छ ।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म ५ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ७ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा बाढीले नेपाल-चीन जोड्ने पुल, रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट-डोल्पा भेरी करिडो र हुम्लाको सिमकोटमा पहिरो आउँदा कर्णाली करिडार पूर्ण रूपमा बनद भएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं–नुवाकोट, कालिगण्डकी करिडोरको बागलुङ र नवलपरासी पूर्व, बेनी मालढुंगा सडक, मध्यपहाडी राजमार्ग र सहिद राजमार्ग भने एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।


Back_to_top