काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप जिलीले आफ्नो चर्चित इलेक्ट्रीक एसयूभी ग्यालेक्सी ई-फाइभको अपडेटेड भर्सन बिक्री सुरु गरेको छ । चीनमा बिक्री सुरु भएको नयाँ भर्सनको मूल्य घटेको छ भने रेन्ज बढेको हो ।
चाँडै अन्तर्राष्ट्रिय बजारमा पनि जाने अपडेटेड भर्सन नेपाल पनि आउने छ । जिलीको ग्यालेक्सी मोडल नेपालमा भने प्रोटोन इमास-सेभेन र जिली ग्यालेक्सी ई-फाइभ कै नामबाट अलग बिक्रेताले बेच्दै आएका छन् ।
कम्पनीले अपटेडेट भर्सनको मूल्य २.६६ प्रतिशतले घटाएको छ । त्यो भनेको ३ हजार युवानले मूल्य घटेको हो । चीनमा नयाँ ग्यालेक्सी मोडलको मूल्य १ लाख ९ हजार आरएमबीबाट सुरु हुन्छ । यसको टप भेरियन्टको मूल्य १ लाख ४५ हजार ८०० आरएमबीसम्म तोकिएको छ ।
यसअघि उपलब्ध ४९ किलोवाट आवरको ब्याट्रीलाई पनि निरन्तरता दिएको छ । यसअघि रहेको ६०.२२ किलोवाट आवर र नयाँ ६८.३९ किलोवाट आवरको ब्याट्री अप्सन पाइने छ । यी दुबै ब्याट्रीले क्रमशः ४१० र ४४५० किलोमिटर हाराहारी रेन्ज सडकमै दिनेछन् । सीएलटीसीले भने ५३० र ६१० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।

नेपाली बजारमा प्रोटोन इमास-सेभेन र ग्यालेक्सी इएक्स-फाइभ दुई नामबाटै यो एसयूभी उपलब्ध छ । प्रोटोन ब्राण्डको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स हो भने, जिली ब्राण्डमा एलआरआर ग्रुपले ग्यालेक्सी इएक्स-फाइभ नेपाल ल्याएको हो ।
अपडेटेड मोडलमा दुई नयाँ कलर ब्लू र ग्रिन कलर पनि थपिएर आएको छ । विश्वभर ३५ देशमा ग्यालेक्सी ई-फाइभ बिक्री हुँदै आएको जिली ग्रुपले जनाएको छ ।
कम्पनीले यसमा १६० पीकपावर क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । उक्त मोटरले ३५० न्यूटन मिटर पीकटर्क प्रदान गर्छ ।

