मोटर पावरमा ‘भड्कियो’ विभाग, नाडालाई लेख्यो यस्तो पत्र

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधन आयात सिफारिस नदिएको भन्दै व्यवसायीले जथाभावी पत्रचार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

विभागले नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)लाई पत्रचार गर्दै विभागसँग सरोकार राख्ने विषयमा व्यवसायीले छलफल नगरी अन्यत्रै पत्रचार गरेको भन्दै गम्भीर आपत्ति जनाएको हो ।

विभागले सवारी आयातका लागि अनुमति सिफारिस नदिएको भन्दै नाडाले मन्त्रालय र चिनियाँ दूतावास गुहारेको भन्दै प्रति चर्को असन्तुष्टि जनाएको हो ।

नाडाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै सिंगापुर र श्रीलंकामा निर्वाध रूपमा आयात भएको सवारीहरू नेपालमा पनि निर्वाध रुपमा आयात हुनुपर्ने, विद्युतीय सवारीको मोटर क्षमता चीनमा उपलब्ध सबैभन्दा उच्च मोडेलसँग मेल खानुपर्ने जस्ता आधारहीन तर्क गरेको विभागको भनाइ छ ।

सवारी आयातका लागि नियमानुसार कागजात पेश भएपछि प्राविधिक शाखाबाट सोको जाँच तथा आयात हुने सवारीको प्राविधिक विश्लेषण गरी स्वीकृति दिइँदै आएको विभागले जनाएको छ । कागजात जाँचको क्रममा पुष्टि हुन नसकेका कुरालाई थप पुष्टि गर्न थप कागजात मगाइने गरेको विभागको भनाइ छ । तर, व्यवसायीसँग थप कागजात माग्दा विभागले सिफारिस नै नदिएको भन्दै अन्यत्र गुहारेको विभागको भनाइ छ ।

मुख्यगरी विद्युतीय सवारीमा सवारीमा व्यवसायीले मोटर पावर तोडमोड गर्ने वा कम देखाइ कम राजस्व तिर्ने गरेको अवस्था रहेकाले कागजात जाँचमा मात्र कडाइ गरिएको विभागले स्पष्ट पारेको छ ।

‘…पछिल्लो समय विद्युतीय सवारीमा मोटरको अधिकतम क्षमताको आधारमा भन्सार महसुल कायम गरिएको र नेपालमा मोटरको पिक पावर जाँच् गर्ने प्रविधि उपलब्ध नभएको कारण भन्सार महशुल छल्ने प्रयोजनका लागि सवारीको मोटर पावर मोडिफिकेसन गर्न सक्ने वा कागजातमा मात्र मोटर पावर न्यून देखाउन सक्ने अवस्था विद्यमान छ,’ विभागले नाडालाई पठाएको पत्रमा भनिएको छ, ‘कागजातको आधिकारिकता जाँच गर्ने क्रममा सम्बन्धित पक्षबाट पुष्टि हुने थप कागजात समेत विभागले माग गर्ने गरेको र सम्भव भएसम्म इमेलमार्फत समेत पुष्ट्याई खोज्ने गरेको अवस्था छ । तथापि, नियमानुसारको कागजात प्राप्त भएका कुनै पनि फर्म वा कम्पनीको सवारी आयात प्रक्रियामा यस विभागद्धारा अवरोध नभएको समेत तहाँ जानकारी गराइन्छ ।’

विभागले राज्यको राजस्व छली हुने जस्तो गम्भीर विषयमा निश्चित कम्पनीको स्वार्थ मात्र नहेरी आवश्यक छलफल मार्फत समस्याको समाधान खोज्न नाडालाई अनुरोध समेत गरेको छ ।


Back_to_top