युरोपले दबाउन सकेन चिनियाँ ईभी, यी कम्पनीको बिक्रीमा उछाल

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय कारको बिक्री देखेर आश्चर्य मानिरहेका पश्चिमाहरु आफ्नै ठाँउमा समेत चीनमा बनेका विद्युतीय कारको बजार देखेर अचम्म मान्न थालेका छन् ।

अमेरिकी बजारमा अहिलेसम्म चीनमा उत्पादन भएका विद्युतीय कारले प्रवेश पाएका छैनन् । युरोपमा भने अधिकांश चिनियाँ ब्राण्डको उपस्थिति छ । अझ युरोपमा चिनियाँ कार निर्माताले आफ्नो बिक्री केन्द्रहरु विस्तार गरिरहेका छन् ।

विजनेश इन्टेलिजेन्स फर्म ‘जाटो डायनामीक्स’को रिपोर्ट मुताविक उच्च करको बाबजुद चिनियाँ कारको बिक्री १०० प्रतिशतसम्मले बढेको छ । धेरै बिक्रेताले सन् २०२४ भरको बिक्री सन् २०२५ को पहिलो ६ महिनामा नै पुरा गरिसकेका छन् ।

युरोपियन युनियनले गत वर्ष चीनमा बनेका विद्युतीय कारमा अधिक अनुदान दिइएको र त्यसले युरोपियन निर्माताको लगानीलाई नै प्रतिकुल असर पार्ने अवस्था आएको भन्दै कर वृद्धि गरेको थियो । युनियनले चीन सरकार वा प्रान्त सरकारको लगानी रहेको ब्राण्डका गाडीमा सबैभन्दा धेरै थप कर लगाएको थियो ।

कुन ब्राण्डले कति बिक्री गरे ?

युरोपियन बजारमा सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी मोरिस ग्यारेज (एमजी) हो । युरोपियन युनियनले सबैभन्दा बढी अतिरिक्त कर पनि एमजीलाई नै लगाएको छ ।

कुनै समय बेलायति स्वामित्वमा रहेको एमजीले सन् २०२५ को पहिलो ६ महिनामा १ लाख ५१ हजार ६०० युनिट गाडी बिक्री गर्दै पहिलो स्थान ओगटेको छ । एमजीले युरोपमा ब्याट्री इलेक्ट्रीक, प्लगइन हाइब्रिड र आइसीई भेहिकल बिक्री गर्दै आएको छ ।

एमजी पहिलो भन्दा युरोपियनले अपनत्व राख्ने ब्राण्ड तपाईलाई लाग्छ भने प्योर चिनियाँ अटोमोवाइल ब्राण्ड बीवाइडीको बिक्रीमा पनि उछाल आएको छ । बीवाइडीले सन् २०२४ मा ५७ हजार युनिट न्यू इनर्जी भेहिकल युरोपमा बिक्री गरेको थियो ।

अघिल्लो पुरै वर्ष बिक्री गरेकोभन्दा यस वर्षको ६ महिनामा मै ७० हजार ५०० युनिट कार युरोपियन बजारमा बिक्री गरिसकेको छ । यसले चिनियाँ कारको लोकप्रियतालाई थप बल दिन्छ ।

त्यस्तै अर्को चाइनीज ब्राण्ड एक्सपेङले गत वर्ष ८ हजार १०० कार बिक्री गरेको थियो । तर, सन् २०२५ को ६ महिनामा नै अघिल्लो वर्षको बिक्रीलाई उछिन्न सफल भएको छ । कम्पनीले २०२५ को ६ महिनामा ८ हजार ४०० युनिट कार बिक्री गरिसकेको छ ।

एक्सपेङले टेस्ला मोडल वाईको सिधा प्रतिस्पर्धी जी-सिक्स मोडल मात्रै यस अवधिमा ५ हजार ५०० युनिट बिक्री गरेको छ । उक्त संख्या गत वर्षको भन्दा २०० प्रतिशतले धेरै हो ।


Back_to_top