लाइसेन्स भए पनि मान्छे मरे जन्मकैद, एक महिनामै १८५ मुद्दा दर्ता

फाइल तस्बिर ।

काठमाडौं । सवारी दुर्घटना बढेसँगै सवारी ज्यान मुद्दा दर्ता हुने क्रम पनि बढेको छ । गत असार महिनामा मात्रै देशभरका अदालतमा १८५ जना विरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको हो ।

नेपाल प्रहरीका अनुसार असारमा देशभर सवारी दुर्घटना गराई ज्यान लिएको वा ज्यान मार्ने प्रयास गर्ने १८५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो ।

सवारी चालक अनुमतिपत्र लिएका तथा नलिएका व्यक्तिले सवारी दुर्घटना गराई कुनै पनि व्यक्तिको मृत्यु भएमा वा मार्ने प्रयास गर्ने विरुद्ध सवारी ज्यान मुद्दा लाग्छ ।

असारमा महिनामा देशभर २ हजार ९२२ वटा सडक दुर्घटना भएका थिए । असारमा सडक दुर्घनमा ४ हजार ४२८ सवारी साधन संलग्न रहेका थिए ।

ती दुर्घटनामा परी २३९ जनाको मृत्यु भएको थियो । त्यस्तै, ६२५ जना गम्भीर घाइते र ३ हजार ४९१ जना सामान्य घाइते भएका थिए ।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ अनुसार कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई जुनसुकै ठाउँमा रहेको व्यक्तिको दुर्घटनाका कारण २१ दिन भित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई जन्म कैदको सजाय तोकिएको छ ।

त्यस्तै, कसैले ज्यान मार्ने मनसायले सवारी दुर्घटना गराएको तर, लक्षित गरिएको व्यक्ति मर्नबाट जोगिएको भए पनि सवारी चलाउनेलाई कसुरको मात्रा अनुसार ५ देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

त्यसैगरी, सवारी चलाउँदा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थमा कसैले कुनै सवारी चलाउँदा दुर्घटना हुन गई सवारी साधनमा रहेको वा बाहिर रहेको व्यक्तिको मृत्यु भएमा त्यसरी सवारी चलाउने व्यक्तिलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।


Back_to_top