आइपुग्यो नामी-०६, बिक्री मूल्य कम हुन सक्ने

काठमाडौं । डोङफेङ ग्रुप अन्तर्गतको नामी ब्राण्डमा दोस्रो गाडी नेपाल आएको छ । कम्पनीले यसअघि नामी-०१ नामबाट ह्याचव्याक कार बिक्री गर्दै आएकोमा अब नयाँ मोडल नामी-०६ एसयूभी ल्याएको हो ।

एमएडब्लू वृद्धिले नेपाल ल्याएको डोङफेङ नामी-०६ काठमाडौं आइपुगेसँगै नाडा अटो शो २०२५ मा प्रदर्शनी गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

‘हाम्रो गाडी काठमाडौं आइपुगेको छ । नयाँ मोडल भएको कारण यसको परीक्षण लगायतका काम सक्नु पर्ने हुन्छ । त्यो सकेर आगामी नाडा अटो शो २०२५ मा प्रदर्शनी गर्ने तयारीमा छौं’, कम्पनी स्रोतले भन्यो ।

एमएडब्लूले नामी-०६ एसयूभी विभिन्न तीन भेरियन्टमा ल्याउने भनेर मूल्यसूची प्रकाशित गरेको थियो । कम्पनीले ई-१, ई-२ र ई-२ प्लसगरी तीन भेरियन्ट ल्याउने जनाएको छ । ब्याट्री साइज भने दुई फरक पाउन सकिन्छ । ई-१ र ई-२ मा ४४.९४ किलोवाट आवरको ब्याट्री रहनेछ । टप भेरियन्ट ई-२ प्लसमा ५१.८७ किलोवाट आवरको ब्याट्री हुनेछ ।

भन्सार प्रयोजनको लागि कम्पनीले प्रकाशित गरेको मूल्यसूची अनुसार नामी-०६ को ई-१ भेरियन्टको मूल्य ५७ लाख ९९ हजार, ई-२ को मूल्य ६० लाख ९९ हजार र ई-२ प्लसको मूल्य ६२ लाख ९९ हजार रुपैयाँ छ । तर, बास्तबिक बिक्रीको लागि आउँदा मूल्य त्योभन्दा कम नै हुनेछ ।

नामी-०६ एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६४५ एमएम छ । यसमा रहेको २७१५ एमएम लामो ह्वीलबेसले आरामदायी यात्राको लागि सहयोग गर्छ । यसको साइज देख्दा अधिकांश घरायसी पार्किङमा सहजै पार्क गर्न सकिन्छ ।

नामीको इलेक्ट्रीक एसयूभीमा टी आकारमा सजिएको एलइडी हेडल्याम्प पाउन सकिन्छ । स्प्लीट टेलगेट, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, भ्येन्टिलेटेड र मसाज सिट दिइएको छ ।

एडास फिचर सहित उपलब्ध हुने नामी-०६ एसयूभीमा पानारोमिक सनरुफ, फोल्डेबल सिट, १२८ कलरमा सजिएको एम्बियन्ट लाइट पाउन सकिन्छ । टु स्पोक स्टेरिङ ह्वील सहित मिनिमल डिजाइनमा तयार भएको क्याबिन र लेदर सिटले उपभोक्ता लोभ्याउन सक्छ ।


Back_to_top