काठमाडौं । भारतीय इलेक्ट्रीक स्कुटर उत्पादक एथरले रिज्टाभन्दा सस्तो मूल्यको नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले ६ दिनपछि (अगष्ट ३०) कम मूल्यको नयाँ स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।
एथर इनर्जीका सीईओ तरुन मेहताले सामाजिक संजाल एक्स (ट्वीटर) मार्फत नयाँ प्लेटफर्म ईएलमा नयाँ स्कुटर ल्याउने जानकारी दिएका हुन् ।
एथरले यही अगष्ट ३० मा भारतको बैंग्लोरमा तेस्रो ‘एथर कम्युनिटी डे’ आयोजना गर्दैछ । उक्त कार्यक्रममा कम मूल्यको स्कुटर सार्वजनिक हुने मेहताले उल्लेख गरेका हुन् ।
एथर इर्नजीले एक टिजर सार्वजनिक गर्दै आउँदै गरेको स्कुटर देखाएको छ । टिजरमा देखिए अनुसार स्कुटरको डिजाइन ट्रेडिसनल हुने अनुमान गर्न सकिन्छ । फ्यामिली डिजाइनमा आउँने यो स्कुटरको फ्रन्ट फेन्डर ठूलो हुनेछ ।
सार्वजनिक टिजरमा धेरै जानकारी नभए पनि नयाँ आउने ईएल प्लेटफर्म लो कस्ट र स्केलेबल हुने कम्पनीको भनाइ छ । यो प्लेटफर्ममा आउने केही मोडलहरू निर्यात बजारका लागि मात्र उत्पादन हुनेछ ।
एथर अहिले भारतीय बजारमा चौथो स्थानमा रहेको छ । जुलाइ २०२५ मा एथरको बजार हिस्सा १६ प्रतिशत छ । कम्पनीले फ्यामिली स्कुटरको रूपमा ल्याएको रिज्टा अहिले कम्पनीको बेस्ट सेलिङ मोडलको रूपमा रहेको छ । एथर रिज्टा १ वर्षभन्दा कम समयमै १ लाख माइलस्टोन पार गर्न सफल मोडल हो ।
कम्पनीले ईएल प्लेटफर्ममा कम मूल्यका स्कुटरहरू ल्याएर अझै बजार हिस्सा बढाउने तयारीमा रहेको छ । ईएल प्लेट फर्मममा आउने स्कुटरहरू ९० हजार भारतीय रुपैयाँभन्दा कम मूल्यमै आउने अनुमान गर्न सकिन्छ ।

