काठमाडौं । सरकारले २०८२ असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेसँगै अहिले चौतर्फी आलोचना भइरहेको छ ।
सामाजिक संजालमा ‘नो इम्बोस्ड नम्बर’ ह्यासट्याग अभियान नै चलेको छ भने ‘जाग नेपाली’ अनियानले आन्लोलन समेत घोषणा गरेको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले सरकारले तयारी बिनै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय जनतामाथिको अर्को अन्याय भएको टिप्पणी गरेका छन्।
उनले सोमबार सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया जनाउँदै सरकारले पूर्वतयारी बिनै बलजफ्ती इम्बोस्ड अनिवार्य गरेर जनता माथि अन्याय गरेको बताएका हुन् ।
सवारी साधन किन्दाखेरि नै सवारी धनीले नम्बर प्लेटको शुल्क तिरेको उल्लेख गर्दै उनले सरकारले फेरि नयाँ नम्बर प्लेटको नाममा आर्थिक शोषण गरेको आरोप समेत लगाएका छन् ।
‘सरकारले तयारी नै नगरी बलजफ्ती रूपमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय जनतामाथि गरिएको अर्को अन्याय हो,’ उनले लेखेका ‘सवारीधनीले सवारीसाधन किन्दै नम्बर प्लेटको शुल्क तिरिसकेको हुन्छ। सरकारले नम्बर प्लेट फेर्ने नाममा यसअघि पनि जनताबाट आर्थिक शोषण गरिसकेको छ।’
उनले सरकारले लाखौं नागरिकलाई लाइसेन्स दिन नसकेको र इम्बोस्डको औचित्य पुष्टि नगरी जबरजस्ती निर्णय गर्नु जनभावना विपरीत रहेको बताएका छन् ।
‘अझैसम्म लाखौं नागरिकलाई चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न नसकेको सरकारले अब पुनः पूर्वाधार, प्राविधिक तयारी (इम्बोस्ड नम्बरको औचित्य नै पुष्टि नगरी) र नेपाली भाषा-लिपिको संवेदनशीलता नहेरी जबरजस्ती निर्णय लागू गर्नु जनभावना विपरीत कदम हो,’ उनले भनेका छन् ।


