काठमाडौं । चिनियाँ ईभीको लहरसँगै ४० लाखदेखि ५० लाख रुपैयाँ मूल्य भित्र किन्न पाइने एसयूभी सेग्मेन्टमा कडा प्रतिस्पर्धा देखिएको छ । बजारमा प्राइसवार सुरू भएसँगै कम्प्याक्ट एसयूभी सेग्मेन्ट थप प्रतिस्पर्धी बनेको हो ।
एक वर्ष अगाडिसम्म ५० लाखेखि ७० लाख रुपैयाँ मूल्य पर्ने कम्प्याक्ट एसयूभी सेग्मेन्टमा तीव्र्र प्रतिस्पर्धा थियो । तर, बजारमा बढ्दो प्रतिस्पर्धाले थप नयाँ एसयूभीहरू बजारमा आए । जसको मूल्य ४० लाख रुपैयाँबाटै सुरू हुन थाल्यो ।
पानारोमिक सनरुफ, ठूलो साइजको इन्फोटेन्मेन्ट स्क्रीन, ३६० डिग्री क्यामरा, एयरब्याग, अटोनोमस ड्राइभिङ असिस्ट जस्ता सुन्दै हाइटेक लाग्ने फिचरहरू सामान्य कारमै उपलब्ध हुन थाल्यो ।
ब्याट्री टेक्नलोजीमा चीनले मारेको फड्कोसँगै गाडीको मूल्य घट्यो । सँगै ब्याट्री निर्माताहरूले सुरक्षामा केन्द्रित रहेर ब्याट्री बनाउन थाले । विद्युतीय कारको उत्पादन पनि बढ्यो । त्यसले बजारमा मूल्यको तीव्र प्रतिस्पर्धा सुरू भयो । चीनसँगै प्राइसवार अन्तर्राष्ट्रिय बजारमा पनि चल्दै आएको छ ।
अहिल नेपालमा ४० देखि ५० लाख रुपैयाँभन्दा पनि कम मूल्यमा खरिद गर्न सकिने ५ मिडसाइज कम्प्याक्ट एसयूभीको बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
एमजी एस-फाइभ लग्जरी
पाँच महिना अगाडि बजारमा आएको एमजी एस-फाइभ लग्जरिको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यही लग्जरी भेरियन्टमा २ लाख ५० हजार रुपैयाँ छुट दिएको छ ।

यसमा ४९.१ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाटको रियर ह्वील ड्राइभ मोटर दिएको छ । यसलाई एक पटकको फुलचार्जमा ३४० किलोमिटर चलाउन सकिने कम्पनीको भनाइ छ ।
एस-फाइभको लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलबेस छ । ड्राइभिङ कम्फर्टको लागि एस-फाइभको रियरमा ५ लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन र १८० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स उपलब्ध छ ।
२. लीपमोटर बी-१०
लीपमोटरले आफ्नो दोस्रो एसयूभी बी-१० साउन अन्तिममा भएको नाइमा मोबिलीटी एक्स्पोमा लन्च भएको हो । १६० किलोवाटको पावरफुल मोटर र ५६.२ किलोवाट आवरको ब्याट्रीप्याक भएको बी-१० को मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

बी-१० एसयूभीले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । लीपमोटरको बी-१० क्रसओभर एसयूभीमा २७३५ एमएम लामो ह्वीलबेस छ । रियरह्वील ड्राइभ मोटरमा उपलब्ध एसयूभीमा ग्राउण्ड क्लियरेन्स १८० एमएम छ ।
३. दीपल एस-०५ प्लस
नाइमा मोबिलिटी एक्स्पो र नाडा अटोशोको बीचमा लन्च भएको दीपल एस-०५ को सुरूवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ । प्लस र म्याक्स दुवै भेरियन्टमा केही समयको लागि १ लाख छुट दिएको कम्पनीको भनाइ छ ।

फ्रेमलेस डोर, फ्लस टाइप डोर ह्याण्डल, प्रिमियम क्वालिटीको सिट कभर रहेको दीपल एस-०५ निकै प्रिमियम देखिन्छ । यो एसयूभीको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २८८० एमएम लामो ह्वीलबेस छ । यो एसयूभीमा ५६.१ किलोवाट आवरको ब्याट्रीप्याक र ९९ किलोवाटको मोटर छ ।
दीपलको एस-०५ ले ४०० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ । यसमा १८ इन्चको ह्वील छ भने ग्राउण्ड क्लियरेन्स १७५ एमएम रहेको छ ।
४. बीवाइडी एटो-टु
नाडा अटो शोमा बीवाइडीले कम्प्याक्ट एसयूभी एटो-टु लन्च गरेको हो । एउटा मात्रै भेरियन्ट लन्च भएको बीवाइडी एटो-टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । एटो्-टुको ह्वीलबेस २६२० छ भने ग्राउण्ड क्लियरेन्स २०० एमएम अग्लो छ ।

कम्पनीले १०० किलोवाटको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्रीप्याकमा यसलाई ल्याएको हो । यसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर रहेको छ । ८ इन वान इलेक्ट्रीक पावरट्रेन र सेल टु बडी टेक्नोलोजी, एप कनेक्टीभीटी र डिजिटल की सहित आएको एसयूभीले बजारमा राम्रै चर्चा पाइरहेको छ ।
५. नामी भीगो इटु प्लस
डोङफेङको न्यू इनर्जी भेहिकल ब्राण्ड नामीको दोस्रो मोडल नामी भिगो इटु र इटुप्लस दुई भेरियन्टमा लन्च भएको छ । कम्प्याक्ट एसयूभी नामी भिगो को इटुको मूल्य ३८ लाख ९९ हजार र इटुप्लसको ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले इन्ट्रेडक्टरी अफरको रूपमा दुवै मोडलमा १/१ लाख छुट दिएको छ ।

नामी इटु प्लसको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र उचाइ १६५४ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस छ । नामी-०६ पनि भनिने एसयूभीमा १९० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
नामी भिगोको इटु प्लसमा ५१.८७ किलोवाट अवारको ब्याट्रीप्याक र ९९ किलोवाटको मोटर छ । यो एसयूभीले एकपटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी गरको छ । प्यानारोमिक मुनरुफ, ड्युल सेक्सन टेलगेट, मेमोरी सहितको हिटेड र भेन्टिलेटेड ड्राइभर सिट जस्ता अत्याधुनिक फिचर रहेको छ ।

