निर्वाध व्यवसाय गर्ने वातावरण बनाउन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन सबैमा आह्वान गरेको छ ।

महासंघले देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा पुगेको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अब निर्वाध व्यवसाय गर्ने वातावरण बनाउन आह्वान गरेको हो ।

महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

निजी क्षेत्रका गतिविधि निर्वाध रूपमा सञ्चालन हुन नसके अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्ने महासंघको भनाइ छ । सर्वप्रथम आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रूपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गर्न आग्रह गरिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए पनि धेरै भन्सार नाका अहिले बन्द रहेकाले अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ ।

निषेधाज्ञा एवम् कफ्र्युको समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरूको आवतजावतमा सहजीकरण गर्न भनिएको छ । आवश्यक वस्तु, औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थको ओसारपसार सहजीकरणमा समेत महासंघले आग्रह गरेको छ ।

पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवम् निवासमा समेत तोडफोड र आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवम् व्यवसायिक सम्पत्ति माथि भएका तोडफोडका घटनाको महासंघ भत्सर्ना गरेको छ ।

महासंघले व्यवसायिक एवम् व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर अर्बौ रुपैयाँ बराबरको क्षति भएको महासंघको भनाइ छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायत विषयमा युवा पुस्ताले चासो देखाएको महासंघले बताएको छ । यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ ।

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवम् सहकार्य गर्न तयार रहेको बताएको छ । नवनिर्माण एवम् पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्वाध सञ्चाचालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ ।

सबै जिल्ला र  १०० भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघको उपस्थिति रहेको स्मरण गराउँदै महासंघले जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यमार्फत करिब ६ लाख साना मझौला एवम् ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ ।

नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास लिइएको छ ।


Back_to_top