काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि सार्वजनिक यातायात संचालनमा आएको छ ।
जेनजीको आन्दोलनका कारण मंगलबारदेखि बन्द रहेको सार्वजनिक यातायात आजदेखि पूर्ण रुपमा संचालनमा आएको हो ।
आज बिहानैदेखि बस, माइक्रोबस, ट्याम्पु, ट्याक्सी लगायत सार्वजनिक सवारी संचालनमा आएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी उपरीक्षक) दीपक गिरीले जेनजीको प्रदर्शनका कारण गत मंगलबारदेखि काठमाडौं उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको जानकारी दिए।
शुक्रबार सार्वजनिक लगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए। शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन्। यात्रुहरूको चहलपहल बढेको देखिन्छ, उनेले भने ।
त्यसैगरी, चितवनतर्फबाट आज सार्वजनिक बसहरू काठमाडौंका लागि प्रस्थान गरेकाले काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।
गत मंगलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कफ्र्यू लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए। आज बिहानदेखि काठमाडौंको कफ्र्यू हटाइएकाले जनजीवन सामान्य बनेको हो।

