काठमाडौं । रोयल इनफिल्डले भारतमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा मेटियर ३५० मोटरसाइकलको २०२५ नयाँ भर्सन सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त मोटरसाइकल फायरबल, स्टेलर, अरोरा र सुपरनोभा गरी चार भेरियन्टमा सार्वजनिक गरेको हो । रोयल इनफिल्डको मेटियरमा नयाँ भर्सनमा कलर अप्सनका साथै केही फिचरहरू पनि थपिएका छन् ।
सुपरनोभा मोडल आधुनिक क्रोम फिनिसिङमा आएको छ भने अरोरा भेरियन्ट पुरानो शैलीको रेट्रो कलरमा छ । स्टेलर भेरियन्ट हल्का र बोल्ड कलर अप्सनमा र फायरबल भाइब्रेन्ट कलरका साथ बजारमा आएको छ ।
मिडसाइज क्रुजर सेग्मेन्टमा उपलब्ध मेटियर मोटरसाइकलको नयाँ भेरियन्टहरूको कम्पनीले सुरुवाती मूल्य १ लाख ९५ हजार ७६२ रुपैयाँ (एक्स शोरुम) निर्धारण गरी बजारमा ल्याएको हो ।
नयाँ कलर अप्सन र अपडेटसँगै कम्पनीले मोटरसाइकलको मूल्य पनि घटाएको हो । सरकारले लिँदै आइरहेको जीएसटी (कर) घटेसँगै भारतमा नयाँ सार्वजनिक भइरहेका मोटरसाइकलहरूको मूल्य घटेर बजारमा आउन थालेको हो ।
२०२५ रोयल एनफिल्ड मेटियर ३५० का सबै भेरियन्टहरूमा अब एलईडी हेडलाइट र एलईडी टर्न इन्डिकेटर दिइएको छ । मोटरसाइकलमा अर्को मुख्य परिवर्तन भनेको प्रत्येक भेरियन्टमा दिइएको स्लिप एन्ड असिस्ट क्लच हो ।
साथै, एड्जस्टेबल क्लच र ब्रेक लिबर (अप्सनल), पूरा ब्ल्याक पावरट्रेन, अफ ह्वाइट इलेमेन्स्, ब्ल्याक आउट एग्जस्ट (अप्सनल), भेरियन्ट अनुसार छुट्टा छुट्टै डिजाइनको स्पोक ह्वील, रोयल एनफिल्ड ट्रिपर नेभिगेसन पोड, टर्न बाइ टर्न नेभिगेसन सुविधा र नयाँ यूएसबी टाइप सी फास्ट चार्जिङ पोर्ट जस्ता फिचरहरु थपिएका छन् । यसका अलावा अन्य केहि परिवर्तन गरियको छैन ।
रोयल एनफिल्ड मेटियरमा अधिकतम २०.२ पीएस पावर र २७ एनएम टर्क जेनेरेट गर्ने पुरानै ३४८ सीसीको जे सिरिजमा बनेको सिंगल सिलिन्डर, एयर कुल्ड, एफआई इन्जिन पाउन सकिन्छ ।
मोटरसाइकलमा टेलिस्कोपिक फोर्क र ट्विन रियर शक अब्जरर्बार सस्पेन्सन सेटअप रहेको छ। ब्रेकिङमा अगाडि र पछाडि डिस्क ब्रेकका साथ डबल च्यानल एबीएस समावेस छ।
रोयल इनफिल्डले भारतमा आफ्ना ग्राहकहरूलाई मेटियरमा ३ वर्ष वा ३०,००० किलोमिटरको वारेन्टि दिने छ । अन्य मोडलहरूमा भने ४ वर्ष र ४०,००० किलोमिटर वारेन्टि र सबै मोडलहरूमा ७ वर्षसम्मको रोडसाइड असिस्टेन्स पनि पाइने छ ।

