ट्राफिकका १८०० बढी अत्यावश्यक उपकरण जलेर नष्ट, चेकजाँच रोकियो

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्ययकामा मात्रै ट्राफिक प्रहरीका १ हजार ८०० बढी अत्यावश्यक उपकरणहरू जलेर नष्ट भएको छ ।

आन्दोलनकारीले काठमाडौं उपत्यकाका ट्राफिक कार्यालयहरूमा आगजनी गर्दा विभिन्न प्रकारका १८२२ थान अत्यावश्यक उपकरणहरू जलेर खरानी भएका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्र सिंह गुरुले आगजनीबाट विभिन्न प्रकारका १ हजार ८२२ थान उपकरण नष्ट भएको जानकारी दिए । उनका अनुसार सवारी साधन, ब्रेथलाइजर, वेयरेबल क्यामेरा, भ्वाइस रेकर्डर, राडर गन, म्याजिक लाइट नष्ट, इचलान जाँच गर्ने मोबाइल लगायत उपकरण नष्ट भएको हो ।

डीएसपी गुरुङले ट्राफिकका काठमाडौं उपत्यकामा रहेका ७८ कार्यालयमध्ये ५८ वटामा आगजनी तथा तोडफोड भएको छ । जसमा ३७ वटामा पूर्ण रुपमा र २१ वटामा आंशिक क्षति भएको उनले बताए ।

‘आगजनी तथा तोडफोडबाट ट्राफिक कार्यालयहरूमा ठूलो क्षति भएको छ । भ्यालीका ७८ मध्ये ३७ कार्यालयमा पूर्ण रुपमा क्षति पुगेको छ । २१ वटामा आंशिक क्षति भएको,’ उनले मेरोअटोसँग भने, ‘त्यस्तै, कार्यालय भित्र रहेका सवारी साधन, फर्निचर, विभिन्न उपकरण, कर्मचरीका पोशास लगायत सबै जलेर नष्ट भएको छ ।

उनका अनुसार ६० वटा दुईपाँग्रे र २६ वटा चारसाँग्रे सवारी पूर्ण रुपमा लजेका छन् । २ वटा चारपाँग्रे सवारीमा आंशिक क्षति भएको उनले बताए । ट्राफिकका ३२ वटा गाडीमध्ये ४ वटा र ८१ मोटरसाइकल मध्ये २१ वटा मात्रै सुरक्षित रहेको उनले बताए ।

डीएसपी गुरुङका अनुसार २०९ थान बडी वेयरेबल क्यामेरा, २२५ थान भ्वाइस रेकर्डर, २०१ थान ब्रेथलाइजर, १७ वटा राडर गन र ६९० वटा म्याजिक लाइट नष्ट भएको छ ।

त्यस्तै, ई-चलान चेकजाँच गर्ने ३९४ थान मोबाइल जलेको उनले बताए । यी बाहेक कम्प्युचर, ल्यापटप, कर्मचारीहरूको पोसाक, विभिन्न कागजत लगायत पनि जलेर खरानी भएको उनले बताए ।

उपकरण नहुँदा रोकियो चेकजाँच

डीएसपी गुरुङका अनुसार अहिले सबै ट्राफिक प्रहरी ड्युटीमा खटिसकेका छन् । सुरुका केही दिन ड्रेस नहुँदा सादा पोसाकै ड्युटीमा खटिएको उनले बताए ।

‘आगलागीमा अधिकांश कर्मचारीको पोसाक जले । सुरुका केही दिन सादा पोसाकमै ड्युटिमा खटिए । अहिले सबैलाई ड्रेसको व्यवस्था गरिसक्यौं । सबै ट्राफिक प्रहरीहरू ड्युटीमा खटिसके,’ उनले भने ।

उनले अहिले ट्राफिक प्रहरीहरूले सडकमा सवारी व्यवस्थापनको काम गरिरहेको बताए । उपकरणहरू नहुँदै नियमित रुपमा हुँदै आएको विभिन्न किसिमका चेकजाँचलाई निरन्तरता दिन नसकिएको उनले बताए ।

उनका अनुसार ब्रेथलाइजर नहुँदा मादक पद्धार्थ सेवन (मापसे), राडर गन नहुँदा ओभर स्पीड चेकिङ, ब्लूबुक, लाइसेन्ज चेकजाँच गरी ई चिट काट्ने काम पनि रोकिएको छ । अब क्रमशः उपकरणहरूको व्यवस्था गरी नियमित चेकजाँच सुरु गरिने उनले बताए ।

‘उपकरण नहुँदा नियमित रुपमा गर्दै आइएको मापसे, ओभर स्पीड लगायत चेकिङ रोकिएको छ । अब उपकरणहरू व्यवस्था गरी पुनः चेकजाँचलाई निरन्तरता दिन्छौं,’ उनले भने ।

त्यस्तै, उपत्यका प्रहरी कार्यालय र ट्राफिक कार्यालयका सीसीटीभी मनिटरिङ कक्ष समेत जलाइएकाले प्रविधि मार्फत हुँदै आएको ट्राफिक व्यवस्थापनको कम समेत रोकिएको उनले बताए ।

प्रदर्शनका क्रममा सडकमा रहेका डिभाइडर, सडक कोन, साइन बोर्डहरू, सीसीक्यामरामा समेत क्षति पुगेकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।


Back_to_top