काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता टेस्लाले सन् २०२५ को तेस्रो क्वाटरमा आएर कम्ब्याक गरेको छ । सन् २०२५ को सुरुवातसँगै विश्वभर टेस्लाको बिक्रीमा पहिरो गएको थियो ।
कम्पनीका सीईओ इलन मस्क राजनीतिमा सक्रिय भएसँगै विश्वभर टेस्लाको बिक्रीमा गिरावट आएको थियो । अमेरिकामै राष्ट्रपति डोनाल्ड ट्रम्पको सारथी बनेर उल्टापुल्टा निर्णय गरेको भन्दै सीइओ मस्क र टेस्ला कम्पनीकै विरोध सुरु भएको थियो । अमेरिकामा रहेका सयौं टेस्ला शोरुमको बाहिर धर्ना र विरोध भएका थिए ।
ट्रम्प प्रशासनबाट बाहिर निस्कनै वित्तिकै टेस्ला सीईओ मस्कले आफु कम्पनीको ब्यवसायमा केन्द्रित हुने जानकारी दिएका थिए । उनको सक्रियता कम्पनीमा बढेसँगै बिक्रीमा पनि उछाल आएको हो ।
टेस्लाले सन् २०२५ को तेस्रो क्वाटरमा ४ लाख ९७ हजार ९९ युनिट कार बिक्री गरेको छ । जुन एउटै क्वाटरमा टेस्लाले बिक्री गरेको रेकर्ड संख्या हो । जुन दोस्रो क्वाटरको भन्दा २९.४१ प्रतिशतले बढी हो ।

टेस्लाले सार्वजनिक गरेको बिक्री तथ्यांक अनुसार मोडल थ्री र मोडल वाईको हिस्सा निकै ठूलो छ । जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा वाई र थ्री मोडल मिलाएर ४ लाख ८१ हजार १६६ युनिट ग्राहकलाई डेलिभरी गरेको उल्लेख छ । जबकी अन्य मोडलको हिस्सा १५ हजार ९३३ युनिट मात्रै छ ।
कम्पनीले उत्पादन भन्दा धेरै डेलिभरी गरेको देखाएको छ । तेस्रो क्वाटरमा ४ लाख ३५ हजार ८२६ युनिट मोडल थ्री र वाईको उत्पादन गरेको उल्लेख छ । अन्य मोडलको उत्पादन ११ हजार ६२४ युनिट गरेको छ । सबै मिलाउँदा तेस्रो क्वाटरमा ४ लाख ४७ हजार ४५० युनिट उत्पादन गरेको हो ।
कस्तो थियो पहिलो र दोस्रो क्वाटर ?
टेस्लाको बिक्रीमा उच्च गिरावट आएको पहिलो क्वाटरमा केबल ३ लाख ३६ हजार ६८१ युनिट डेलिभरी भएको थियो । उत्पादन भने ३ लाख ६२ हजार ६१५ युनिट गरेको कम्पनीले जनाएको थियो ।
पहिलो क्वाटरको तुलनामा दोस्रो क्वाटरमा केही सुधार भएको थियो । अप्रिल, मे र जुन महिनामा ३ लाख ८४ हजार युनिट कार ग्राहकलाई डेलिभरी गरेको टेस्लाले उत्पादन भने ४ लाख १० हजार २४४ युनिट गरेको थियो ।
सन् २०२५ को ९ महिनामा कम्पनीले १२ लाख २० हजार ३०९ युनिट कार उत्पादन गरेको छ । सोही अवधिमा टेस्लाले १२ लाख १७ हजार ९०२ युनिट कार डेलिभरी गरेको छ । टेस्लाको उत्पादन र बिक्री तथ्यांक हेर्दा कम्पनी निकै स्वस्थ देखिन्छ ।


